फिल्म ‘आश्रम’ को पनि अहिले धमाधम छायाँकन भइरहेको छ । छायाँकनका लागि फ्लोरमा निस्किएको फिल्मको बालाजुस्थित चलचित्र बिकाश कम्पनीमा छायाँकन भइरहेको छ हो । मनोज राजभण्डारीको निर्माण रहेको फिल्म इन्डोर र आउटडोर दुवै छायांकन स्टुडियोमै हुने छ ।
‘फिल्मको इन्डोर र आउटडोरको छायाँंकन एनफडिसीको स्टूडियो भित्रै हुनेछ । फिल्मको टिम पनि ठूलो छैन’ निर्माता भण्डारीले भने ‘सामाजिक दूरीसँगै स्वास्थ्य सुरक्षा अपनाएर फिल्मको छायांकन सुरु गरेका हौं ।’
मेरोन राजभण्डारी निर्देशक रहेको फिल्ममा एलमिता केसी, नविस कठायत, किमत गौतम, अनुष्का तिमल्सिना, कौशल दाहाल, पल्पसा श्रेष्ठ, बालकलाकार श्रीयन राजभण्डारी, श्रद्धा महर्जन, टिसा राजभण्डारी, सिवानी खड्कालगायतको अभिनय रहनेछ ।
कथा तथा पटकथा सृष्टि पोखरेलको रहेको फिल्मले बालआश्रममा बस्ने बालबालिकाको अवस्था र उनीहरुको मनोविज्ञानलाई देखाउने छ । हलमा दर्शकको उपस्थिति बाक्लिन थालेपछि फिल्मलाई प्रदर्शन गर्ने योजना रहेको निर्माण युनिटले जनाएको हो ।




