चितवन । स्थानीय कृषि उत्पादनलाई प्रर्वद्धन गर्न र युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न भरतपुरमा तरकारी तथा फलफूल मण्डी सञ्चालनमा आउन लागेको छ । चितवनका तीन युवाको ३ करोड संयुक्त लगानीमा भरतपुर तरकारी तथा फलफूल मण्डी स्थापना भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बाइपासरोडमा शम्भु थापा, सुजन दराई र कृष्ण अधिकारीको संयुक्त लगानीमा उक्त मण्डीको स्थापना गरेका हुन ।
आज बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । सो अवसरमा बोल्दै भरतपुर तरकारी तथा फलफूल प्रालिका अध्यक्ष शम्भु थापाले स्थानीय कृषकलाई प्रोत्साहित गर्न र उचित मुल्यमा खरीद गर्ने उद्धेश्यले मण्डी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार चितवनका सातै स्थानीय तहका कृषि उपजलाई सदुपयोग गर्ने र कृषि उत्पादनमा बृद्धि गर्ने संस्थाको उद्धेश्य रहेको छ ।

औपचारिक रुपमा शुक्रबार सञ्चालनमा आउने मण्डीको पूर्वाधारको काम सबै सकिएको उनले जानकारी दिए । लामोसमयको अध्ययन र कृषक र उपभोक्ताको माग र आवश्यकता अनुसार मण्डी सञ्चालनमा ल्याईएको हो । ‘हाम्रो चौध बर्षको अनुभव र चितवन कृषिको हब भएकोले पनि यो अवधारण ल्याएका हौं ।’ अध्यक्ष थापाले भने । मण्डीमा कुल १० हजार वर्गमिटरमध्ये ७ हजार वर्गमिटरमा ४४ वटा तरकारी तथा फलफूलका स्टलहरु रहनेछन । जसमध्ये ३६ वटा तरकारी, ४ वटा फलफूल, १/१ वटा अर्गानिक, दुध,बीउविजन,प्लास्टिक र क्यान्टिन रहने बताईएको छ ।
मण्डीले दैनिक खाद्य बस्तुहरु पनि सर्वसुलभ मुल्यमा उपलब्ध गराउने भएको छ । तीनहजार वर्गमिटर क्षेत्रफलमा चामल, दाल, चिनि, तेल तथा गेडागुडीका स्टलहरु रहने अध्यक्ष थापाले जानकारी दिए । मण्डीमा बिहान ३ बजेदेखि राती ८ बजेसम्म थोक तथा खुद्रा कारोबार गर्नेगरी समयतालिका छुट्याईएको छ ।
सस्थाले स्थानीय कृषकको साथै आफ्नै लगानीमा समेत कृषि उत्पादन गर्न जिल्लाका विभिन्न स्थानमा जग्गा भाडामा लिएर उत्पादन शुरु गरिसकेको बताएको छ । हामीले स्थानीय कृषकको साथै आफैले पनि कृषि उत्पादन गर्न शुरु गरेका छौं उनले भने, जिल्लाभरका ७सय ७७ जना युवालाई खरीद र व्यवस्थापनको जिम्मा दिनेछौं । उनका अनुसार अपुग भएको उत्पादन बाहिरी जिल्लाबाट ल्याउने र बढी भएको उत्पादन अन्य जिल्ला पठाइने छ । संस्थाले दुग्ध तथा मासु उत्पादनलाई समेत अगाडि बढाएको छ । जसअनुसार कृष्टल कृषि फर्म दर्ता गरी शुरुवाती क्षणमा ६ विगाहमा तरकारी खेती, २ विगाहमा भैसी पालन र २ विगाहामा बंगुर पालन गर्न व्यवस्थापन गरिसकेको जानकारी दिएको छ ।
‘एकत हामीले कृषकलाई उचित मुल्य दिन्छौ उनले भने, अर्कोतिर उपभोक्ताले पनि सस्तो मुल्यमा किन्न पाउंँछन ।’ हाल ३ जना युवाको प्रत्यक्ष लगानीमा मण्डी स्थापना गरेपनि आगामी दिनमा विदेशबाट फर्केका युवालाई लक्षित गर्दै जिल्लाभर खाली जग्गा भाडामा लिएर उनीहरुलाई कृषि उत्पादनमा आकर्षण गर्ने उद्धेश्य रहेको अध्यक्ष थापाको भनाई छ ।
संस्थाले आगाी दिनमा डेरी फर्म, बाख्रापालन, अध्याधुनिक मासु पसल, लोकल कुखुरा पालनका साथै डिपार्टमेण्टल स्टोर्स समेत सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । यसका लागि प्रारम्भिक चरणका कामहरु शुरु भईसकेको सो अवसरमा जानकारी दिईयो ।




