चितवन । भरतपुर महानगरपालिका–१ बागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुलाई न्यानो कपडा सहयोग गरिएको छ ।
आइतबार नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागि केही सहयोग सामग्री प्रदान गरेको हो । रेडक्रसबाट हाललाई २५ थान कम्बल र १० थान त्रिपाल सहयोग भएको हो । आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्नुभयो ।
बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित भरतपुर–१४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले यहाँ उपचार गरेका सबै बिरामीले उपचार सेवा राम्रो भएको भन्दैगर्दा खुसी लाग्ने गरेको बताउनुभयो । भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरु प्रतिआभार प्रकट गर्नुभयो । प्राप्त सहयोगहरुले केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा निकै सहयोग पुगेको र महानगरलाई राहत मिलेको उहाँले बताउनुभयो ।
गत भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकोमा ३४६ निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिनुभयो । यसअघि यस आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबाट २ थान सि प्याप मेसिन सहयोग भइसकेको छ । यसैगरी लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन उपलब्ध गराएको डा. कोइरालाले बताउनुभयो ।




