चितवन ।नेपालमा १४ हजारदेखि १५ हजार हेक्टर जमिनमा धानखेती हुन्छ । यी खेतमा ९६ प्रतिशत उन्नत धानका बीउ रोपिन्छ भने चार प्रतिशतमा मात्र रैथाने धान रोपिन्छ । रैथाने धानका बीउ कम फल्ने र उन्नत जातका बीउ धेरै फल्ने भएर किसानले रैथाने जातका धान लगाउन बिस्तारै कम गर्दै गएको बताउँछन् । रैथाने जातका धानका बीउमध्ये केहीले चिसो सहने त कुनै धानले अत्यधिक गर्मी चाहने हुन्छ । उन्नत जातका बीउले धेरै चिसो र धेरै गर्मी कुनै पनि सहन सक्दैनन् । खडेरी प-यो भने उन्नत जातका बीउ सबै मासिने खतरा रहन्छ । त्यसकारण पनि रैथाने जातका धानलाई भविष्यका लागि खाद्यसुरक्षाका रुपमा लिएको छ ।
सेतो चामलसँग साट्न बाध्य
निकै पोषिलो र अत्यधिक कार्बोहाइड्रेट भएको र स्वास्थ्यवद्र्धक पनि मानिने काली मार्सी चामलको भात चाख्न खोज्नेको जमात जुम्लामा पनि बढिरहेको छ । चामलको माग बढेकाले जुम्लादेखि काली मार्सी धान लगेर काठमाडौँमा व्यवसाय पनि गर्ने गरेका छन् । लामो समयदेखि काठमाडौँमा बसेर काली मार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका पदम बुढालाई यतिबेला कोरोनाले देश लकडाउन हुँदा मार्सी चामलको व्यवसायमा सकस भएको बताउनुभयो । “हामीले सानो परिमाणमा मात्रै जुम्ली चामलको व्यापार गर्दै आएका थियौँ”, रावतले भन्नुभयो, “पछिल्ला केही दिनयता कोरोना भाइरसले गर्दा व्यापार ठप्प भएको छ, जसका कारण हामीले सेता चामलसँगै साट्न बाध्य भएका छौँ ।”
हाल काली मार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएकाले जुम्लाका जनता पनि आयातित सेतो चामल खान बाध्य छन् । तिला गाउँपालिका १ का दलपत्ती रावत भन्नुहुन्छ, “हाम्रो बाल्यवस्थामा यस्तो चामल नै थिएन । अहिले गाडी आएदेखि सेतो चामल भित्रिएको हो । सेतो चामलमा स्वाद पनि राम्रो छैन । तर पनि यही चामल खान बाध्य भएका छौँ ।” उत्पादन कम हुँदै गएपछि कतिपय स्थानीय पनि सेतो चामलसँग साट्न बाध्य भएको बताउने गरेका छन् ।




