आज सेप्टेम्वर २८ विश्वभरि ‘रेबिज विरुद्धको दिवस’ को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।
देश तथा विदेशभर आज यो दिवस मनाँइदै छ कुनै पनि जनावरले टोक्दैमा मात्र रेविज हुदैन संक्रमित जनावरलको टोकाईबाट मात्र यो रोग लाग्दछ । नेपालमा पनि “तथ्य बुझौ, त्रसित नहोऔ” भन्ने नाराका साथ जनचेतनामुलक कार्यक्रमहरु ठाउँ ठाउँमा हुदै आएका छन् । सबै जनावरले टोक्दैमा रेविज लाग्दैन रेविज लागेका कुनै पनि जनावर जस्तै कुकुर, बिराला, स्याल, बाँदर, चमेराहरुको टोकाईले मात्र मानिसमा रेविजका किटाणु सर्न सक्दछ संक्रमित कुकुरको टोकाईबाट मानिसमा रेविज सर्न सक्ने सम्भावना ९९% सम्म हुन सक्छ भने अरु जनावर जस्तै बिरालो, बाँदर, स्याल,फ्याउरो तथा चमेरा आदिको टोकाईले रेविज सर्न सक्ने सम्भावना धेरै न्यून हुने गर्छ । यो रेविज भाइरस संक्रमित जनावरको र्यालमा हुने गर्दछ र त्यही र्यालको माध्यमबाट टोकाई पछि अरु जनावर अथवा मानिसहरुमा सर्ने गर्दछ ।
विगतका केही तथ्यांक हेर्ने हो भने रेविज रोगले संक्रमितको मृत्युदर निकै उच्च छ । विश्वको तथ्याङ्कका अनुसार बार्षिक रेविज रोगले संक्रमित भई मृत्यु हुने मानिसको संख्या ५९,००० रहेको छ भने नेपालमा मात्रै लगभग १०० जनाको मृत्यु हुने गरेको छ । आर्थिक बर्ष २०७४/२०७५ को तथ्यांक हेर्दा २८,५१४ जनावरको टोकाईसंग सम्बन्धित घटना दर्ता भएको देखिन्छ । यस मध्ये २६,३१२ जना मानिसलाई संक्रमित कुकुरले टोकेको घटना दर्ता भएका हुन्छ । यसलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले २०३० सम्ममा रेविजबाट मानिसको मृत्यु हुनेको संख्या शून्य बनाउने लक्ष्यका साथ् विश्व भरि विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
आउनुहोस रेविज भनेको के हो रु यो कसरी सर्न सक्छ ? यदि कुनै पनि जनावरले टोकी हाले के गर्ने के नगर्ने छोटकरीमा जानी राखौ।
रेविज एक प्रकारको भाइरल रोग हो र संभवतः कुनै पनि जनावरको टोकाईबाट सर्न सक्दछ । यस भाइरसले सिधै केन्द्रिय स्नायु प्रणालीमा गएर असर गर्ने हुनाले यदि कोही संक्रमित भईहालेमा मृत्यु हुने सम्भावना निकै उच्च हुने गर्दछ ।
यसको रोकथामका उपायहरु :-
घरपालुवा जनावरलाई रोग लाग्न नदिन
* घरपालुवा जनावरहरु जस्तै कुकुरहरुलाई नियमित रुपमा रेविज बिरुद्धको सुई लगाउनु पर्छ।
* आफ्ना घरपालुवा जनावरहरुलाई खुल्ला छोडिएका जनावरको सम्पर्कमा आउन दिनु हुदैन ।
* बेला बेलामा आफूले पालेका जनावरलाई नजिकैको भेटेरिनरीमा लगेर नियमित स्वास्थको जाँच गरी राख्नु पर्ने हुन्छ ।
मानिसमा रेविज संक्रमण हुन नदिन
* जंगली जनावरहरुबाट टाढा नै रहने गर्नुपर्छ ।
* घरबाट बाहिर निस्कने बेला शरीरको तल्लो भागमा सबै शरीर ढाकिने गरि कपडा लगाएर हिड्ने गर्नुपर्छ यसो गर्नाले टोकी हालेपनि संक्रमण हुने सम्भावना कम हुन आउँछ ।
* टोकी हालेको खण्डमा छिटो भन्दा छिटो टोकेको ठाउँहरुमा सफा पानी र साबुनको प्रयोग गरी ५/१० मिनेटसम्म पखाल्नु पदर्छ र नजिककै स्वास्थ्य सँस्थामा तुरुन्त उपचारका लागि लैजानु पर्छ ।
उपचारका क्रममा बिरामीलाई स्वास्थ्यकर्मीले टोकेको घाउको प्रकृति हेरी रेविज बिरुद्धको खोप अथवा रेबिज इम्युनोग्लोबुलिन दिने गरिन्छ । त्यसैले यस्तो रोगबाट आफू र आफ्ना परिवारलाई जोगाउन टोल टोलमा जनचेतनामूलक कार्यक्रम तथा सडकमा जथाभावी चहार्ने जनावरहरुको उचित व्यवस्थापन आफ्नो नगरपालिका र यसै सम्बन्धी कार्य गर्न खोलिएका सस्थाहरू मार्फत समन्वय गरी कार्य गर्ने हो कि ? अन्यथा रेविज रोग सम्बन्धि औपचारिक दिवश मनाउनुको कुनै अर्थ हुने छैन ।
(लेखक: फार्मेशी अधिकृत (G ४७०५ ) स्वास्थ्य सेवा बिभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत हुनुहुन्छ )




