चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरले भदौ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।
जस अनुसार राजश्व विभागले ९३ करोड ६२ लाख ८१ हजार लक्ष्य दिइएकोमा उक्त महिनामा १ अर्ब ३३ करोड ६५ लाख ५३ हजार रुपैयाँ सङ्कलन गरेको हो । जुन लक्ष्यभन्दा ४० करोड २७ लाख दुई हजार बढीले सङ्कलन भएको छ ।
सङ्कलन भएको राजश्व मध्ये सबै भन्दा बढी अन्तःशुल्क शीर्षकबाट राजश्व असुली भएको छ भने सबै भन्दा कम व्याजदर शीर्षकमा २६ लाख ८२ हजार रुपैयाँ सङ्कलन गरेको छ । जस अनुसार अन्तःशुल्क शीर्षकमा ६३ करोड ६२ लाख ४० हजार लक्ष्य दिइएकोमा १ अर्ब ११ करोड ४८ लाख ७५ हजार रुपैयाँ सङ्कलन गरेको हो । यस्तै ब्याज कर शीर्षकमा १ करोड ८० लाख ७४ हजारको लक्ष्य दिइएको थियो ।
शिक्षा सेवा कर र स्वास्थ्य सेवा कर शीर्षकमा भदौ महिनामा कुनै पनि राजश्व सङ्कलन भएको छैन । उक्त महिनामा शिक्षा सेवा शुल्क शीर्षकमा विभागले २ लाख रुपैयाँ र स्वास्थ्य सेवा करमा ३ लाख ४२ हजार रुपैयाँका लक्ष्य दिएको थियो ।
यस्तै कार्यालयको आयकर र बहाल कर तथा मूल्य अभिवृद्धि कर शीर्षकमा भने लक्ष्य अनुसार कर असुल्न हुन सकेको छैन । जस अनुसार आयकर शीर्षकमा १२ करोड १३ लाख ९ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ११ करोड ९९ लाख ९४ हजार रुपैंया सङ्कलन गरेको छ । यस्तै कार्यालयले बहाल कर शीर्षकमा २३ लाख ८२ हजार रुपैयाँ कर सङ्कलन गरेको छ । यो शीर्षकमा ३७ लाख रुपैयाँ लक्ष्य दिइएको थियो ।
कार्यालयले मूल्य अभिवृद्धि कर शीर्षकमा ९ करोड ६६ लाख ६० हजार कर असुल गरेको छ । यस शीर्षकमा १५ करोड ६५ लाख ४६ हजार रुपैंया लक्ष्य दिइएको थियो ।
विभागले यस कार्यालयलाई चालु आर्थिक वर्षका लागि २० अर्ब ६५ करोड २५ लाख ७ हजार रुपैयाँ लक्ष्य दिएको छ ।




