नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’को पोष्टर तथा टाइटल गीत सार्वजनिक भएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आयोजित कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले पोष्टर सार्वजनिक गरेका थिए ।
कार्यक्रममा फिल्मको शीर्ष गीत ‘म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु’ प्रदर्शन गरिएको थियो । शीर्ष गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् भने वसन्त सापकोटाको संगीत रहेको छ । नायक श्रेष्ठले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायाँकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताए । उनले कोरोना संक्रमणबाट बच्ने सावधानी अपनाउदै आम नेपालीलाई मनोरञ्जन दिने नेपाली चलचित्रहरु प्रदर्शन गरेर मनोरञ्जनको भ्याक्सिन दिन पाउँदा आफूलाई निकै सन्तोष लागेको बताए ।
Classic Tech 300×300कार्यक्रममा निर्माता यशोदा राईले अभिनेता शिव श्रेष्ठले एक वर्ष लगाएर यसको कथा तयार पारेको बताइन् । यस चलचित्रमा नेपालका वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुसाल, आङ तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोड, रेखा फागो, नरेन खड्का, ध्रुव कोइराला, प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ । यसै चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेका छन् ।
फिल्मको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी छन् भने खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सहनिर्माता रहेका छन् । यस फिल्ममा दीपेश सापकोटको निर्देशन रहेको छ भने वसन्त सापकोटा, अर्जुन पोखरेल, आनन्द कार्की तथा सन्तोष रजौरेको संगीत छ । फिसटेल मुभिज् प्रालिको ब्यानरमा बनेको यस चलचित्रको डिजिटल राईट ट्रि इन्टरटेनमेण्टले लिएको छ ।




