मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् भाग्यको विशेष प्रदर्शन भएको छ । भरतपुरको सिजी ल्यान्डमार्कस्थित चितवन सिनेप्लेक्समा उक्त चलचित्रको पहिलो शोको प्रदर्शन गरिएको हो ।
चितवनबाटै पहिलोपटक निर्माण भएको उक्त चलचित्रको पहिलो शोबाटै राम्रो प्रतिक्रिया आएको चलचित्रका लेखक, निर्देशक तथा कलाकार रमेश रानामगरले बताए । चितवनबाटै कलाकार उत्पादन गर्ने उद्देश्यले निर्माण गरेको चलचित्र मिह्रीको पहिलो शोबाट अर्को चलचित्र निर्माण गर्नमा हौसला मिलेको उनले बताए ।
घना गुरूङको छायाङ्कन तथा सम्पादनमा तयार भएको चलचित्रमा रमेश रानामगरको अलावा ईश्वर रानामगर, प्रिज्मा आलेमगर, सनम आलेमगर, स्रष्टी थापामगर, आशिक रानामगर, मिलन थापामगर, प्रेमकुमारी आलेमगर, देवी थापामगर, भीमबहादुर थापामगर, बलविक्रम थापामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा अभिनय गरेका अधिकांश अनुहार नयाँ हुन् ।
पहिलोपटक क्यामराको अगाडि उभिएर पनि सकारात्मक प्रतिक्रिया पाएकोमा आफू दङ्ग भएको कलाकार भीमबहादुर थापामगरले बताए । ‘चलचित्र कस्तो बनेको होला भन्नेमा साह्रै डर लागेको थियो’, उनले भने, ‘तर समग्रमा यो चलचित्रलाई सबैले मन पराइदिनुभयो ।’
आफ्नो पहिलो काम नै सबैले मन पराएपछि कलाकारितामा थप रूचि बढेको उनले बताए । यस्तै, कलाकार प्रिज्मा आलेमगरले पनि आफूले पहिलोपटक काम गरेको चलचित्र दर्शकसँगै बसेर हेर्दा फरक अनुभव भएको सुनाइन् । ‘अरुको चलचित्र हेर्न हलसम्म धेरैपटक पुगेँ, तर आज आफैँलाई आफैँले दर्शकसँगै बसेर हेर्दा अनुभव नै फरक हुँदोरहेछ’, उनले भनिन् ।
चलचित्र हेर्ने दर्शकले हल भरिभराउ भएको थियो । पहिलो शो हलमा भए पनि अबका शोहरु भने चितवन जिल्लाको मगर समुदायको बसोवास रहेका ठाउँमा हुनेछन् । जिल्लामा रहेका मगर गुठीमार्फत जिल्लाका करिब ३५ भन्दा बढी स्थानमा प्रदर्शन गर्ने लक्ष्य लिइएको निर्माण व्यवस्थापक एवम् कलाकार ईश्वर रानामगरले बताए ।




