चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । आर्थिक ऐनले दर्ता भएर विवरण नबुझाएका र दर्ता नभएका करदातालाई फागुन मसान्तसम्ममा दर्ता गरेर कर बुझाएमा विशेष छुटको व्यवस्था गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा कुनै व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आय विवरण र कर बुझाएमा त्यसअघिका वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुने जनाइएको छ ।
यस्तै लेखा नं लिएर विवरण पेश नगरेका वार्षिक रु ५० लाखसम्म कारोवार गर्ने व्यक्तिले गएका तीन आर्थिक वर्षको आय विवरण, आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाएमा त्यसअघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने सूचनामा उल्लेख छ । स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा माथि कारोवार गर्ने व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ । विसं २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने कर दाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुन आउने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने छ ।
आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारणउपर मुद्दामा गई विचाराधीन रहेकामा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा हुने कार्यालयको सूचनामा उल्लेख छ । कार्यालयले झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणमा भने छुट नपाइने जनाएको छ ।
कार्यालयका प्रमुख घनश्याम पन्थीले कर तिर्न बाँकी रहेका करदाताहरुलाई राम्रो अवसर रहेको भन्दै यसको उपयोग गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयले आर्थिक ऐन २०७७ ले गरेको छुट तथा सुविधाका बारेमा जानकारी दिन जिल्लामा १६ वटा कार्यक्रम गरिसकेको छ । जिल्लादेखि स्थानीयस्तरका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, वस्तुगत सङ्घहरु, लेखा परीक्षक, कर सहयोगीलगायतको उपस्थितिमा कार्यक्रमहरु गरिएको उहाँको भनाइ छ ।
जिल्लामा दर्ता भएर विवरण नबुझाउने दुई हजार ८०० र आयकरतर्फका ६ हजार ५०० भन्दा बढी करदाता यसबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । कार्यालयमा माघ मसान्तसम्ममा व्यक्तिगत लेखा नम्बर लिनेको सङ्ख्या ८७ हजार २३ छ । मूल्यअभिवृद्धि करतर्फ नौ हजार ५१८, आयकरतर्फ ५४ हजार ५८० र अग्रिम करकट्टीका लागि (डब्लु प्यान) तर्फ १५४ करदाता छन् । कार्यालयले यस वर्ष रु १८ अर्ब ९१ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । माघ मसान्तसम्ममा रु आठ अर्ब ६६ करोड राजश्व सङ्कलन गरेको छ ।




