युवा देशको अनमोल शक्ति हो । देशको सबैभन्दा ठूलो पुँजी नै युवा शक्ति हो । युवा वर्गको विशिष्ट शक्तिलाई नसमेटी राष्ट्र निर्माण सम्भव छैन । त्यसैले युवावर्गमा राजनीतिप्रति बढेको वितृष्णा हटाएर उनीहरुमा राजनीतिक चेतनाको विकास गराएर राजनीतिमा संलग्न युवालाई मूलधारको राजनीतिमा सामेल गराउनु आजको आवश्यकता हो ।
राजनीतिमा युवा पुस्ता स्थापित भएको खण्डमा समाजको विकासले गति लिन्छ । समाजको सबैभन्दा गतिशील समूह नै युवा भएकाले उसको सहभागिताविना देश मेरुदण्ड नभएको शरीरजस्तै हुन्छ । हिजो जीवन जोखिममा राखेर परिवर्तनको जग युवाले नै हाले जसरी नैअब समृद्धिको यात्रामा पनि उनीहरुकै सहभागिताबाट गन्तव्यमा पुग्न मद्दत हुन्छ ।
पछिल्लो समय राजनीती प्रती युवाशक्तीको मोह खस्किदै गएको पाइन्छ, प्रमुख कारण नेत्रित्वमा पुस्ता हस्तातरण कमी नै हो । जति राजनितीमा होमिएका युवा छन उनीहरू पनि कुनै पार्टिको झोला बोक्नमा बेस्त छन । आफ्नो नेत्रित्वको खबरदारी कसैले गर्ने हिम्मत गर्दैनन। सहिलाइ सहि गलतलाइ गलत भन्न सम्म आट पनि गर्दैनन् ।
हामी ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा लिएर अघि बढिरहेका छौँ । यसलाई यथार्थमा बदल्नु छ भने हामीले अबका युवालाई राजनीतिका क्षेत्रमा चेतनशील बनाउन जरुरी छ । युवालाई भविष्यको कर्णधार मात्र होइन वर्तमानको साझेदार ठान्नु नै उनीहरुको अस्तित्व स्वीकार गर्नु हो । उनीहरुलाई न्याय दिनु हो र समृद्धिको बाटोमा अघि बढ्नु हो ।
युवा पुस्तासँग भोलिको परिकल्पना नंभएको हैन । आफ्नो परिकल्पना साकार पार्ने अवसरमात्र कम भएको हो । विसं २०६२–०६३ कोआन्दोलनदेखि नै चर्चामा आएको राजनीतिमा पुस्तान्तरण नभएकैले वर्तमान राजनीतिमा सक्षम र परिपक्व नेतृत्वको कमी भएको हो ।तसर्थ पुस्तान्तरणले पनि राजनीतिमा युवा सहभागिता बढाउन मद्दत पुग्छ ।
सचेत युवाले राजनीतिलाई पाखा लगाउने कि यसलाई अँगाल्ने ? राजनीतिलाई विकास र समृद्धिको बाटामा अग्रसर हुने माध्यम बनाउनेकि देशको ढुकुटी रित्याउने माध्यम ठान्ने ? यसलाई असफल व्यक्ति जाने ठाउँ बनाउने कि अब्बल नेतृत्व विकास गर्ने ठाउँ बनाउने ? यसलाई नीतिहरुको मूल नीति बनाउने कि फोहोरी खेलमा परिणत गर्ने ? यो सबै हामीमा भरपर्ने विषय हो । अब युवाले सधैँ भरि हाम्रा पुर्खाको गुण गाइरहने हैन । आउने पुस्ताका लागी सुनौलो युग हस्तान्तरणको वातावरण बनाउन लाग्नुपर्छ । त्यसैले राजनीतिमा हामीले सक्षम र परिपक्व युवा नेतृत्वको विकास नगर्नु भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट ल्याउनु हो ।
अबको राजनीतिमा युवा सहभागिताले नै समृद्ध नेपालको सपना साकार पार्न सक्छ । त्यसका लागि हामीले राजनीति फोहोरी खेल होभन्दै पन्छिने हैन फोहोर पोखरीमै पसेर सफा गरेर निस्किने आँट भएको युवा हुनु जरुरी छ । प्रत्येक राजनीतिक सङ्गठनहरुले राजनीतिकचेतना भएका तर स्वतन्त्ररूपमा सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य बोकेको युवालाई अवसर दिनु जरुरी छ । त्यसले नैदेशलाई समृद्धिको बाटोमा अघि सार्छ । युवा सहभागिताले नै राजनीतिलाई प्रधान नीति बनाउन मद्दत गर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउँछ ।




