धम्पुसको खुला परिवेश घमाइलो दिन ढल्किँदै गर्दाखेरिको मनमोहक पर्यावरण, शिर ठाडो पारेर उभिएका पहाडी शृङ्खला अनि हिमाली सौन्दर्य । दिमागभन्दा मेरा धेरै आँखा डुलिरहेका थिए । त्यस बखत शीतल पहाडी हावाले शरीरका अवयवहरूमा स्पर्श गर्दाको आनन्दानुभूति अक्षरमा बयान गर्न कहाँ सम्भव छ र ! तैपनि मनमनै सोचेँ चितवनदेखि अष्ट्रे्लियन वेस क्याम्पसम्मको यात्राको बारेमा एउटा लेख लेखूँ । पोखरा त धेरैपटक आइसकेको ठाउँ तर अष्ट्रेलियन वेस क्याम्पसम्मको पदयात्रा सर्वथा नयाँ र रोमाञ्चकारी हुनेछ । यि विशुद्ध डाँडाकाँडासँग परिचय गर्दे प्रकृतिमा रमाउँदै हिँड्नुको मज्जा घरमा पलेटी कसेर बस्दा कहाँ आउँछ र !
नजिकै रहेको होटल अगाडि पुगेर चिया बनाउन अनुरोध गरेँ । चिया तयार होउन्जेल चारैतिरको सुन्दर दृश्यको फोटो र भिडियो लिएँ । विशेष गरी नयाँ ठाउँमा जाँदा फोटो र भिडियो मेरो प्राथमिकतामा पर्ने गर्दछन् । चियाको प्रत्येक सुर्कीसँगै त्यहाँको मनोरम वातावरणको स्वाद लिएँ । एक मनले सोचेँ आज यतै बसेर यहाँको सौन्दर्यताको राम्रो अनुभूति गरुँ तर गन्तव्य अष्ट्रेलियन वेस क्याम्पसम्मको भएकोले मनले गोडालाई उतैतिर धकेल्यो ।
बाटोमा भेटिने नयाँ अनुहारहरुसँग परिचय गर्दै कुरामा कुरा थप्दै हिँड्नुको पनि बेग्लै अनुभूति हुँदोरहेछ । वसन्त ऋतु भएकोले जङ्गलहरु हरिया थिए । भर्खर पलाएका पालुवाहरुले मेरो ध्यान पूरै आफूतिर तानिरहेका थिए । जवानीले धपक्क बलेजस्ता देखिने ती पालुवाहरु आफूले नयाँ जीवन पाएकोमा खुसी व्यक्त गरेजस्ता देखिन्थे । मलाई लाग्थ्यो मानिस प्रकृति विपरीत जान सक्दैन । यी रुखहरुमा पूरै पात झरेर नयाँ वसन्तको आगमनले हराभरा भएझैँ मानिसको जीवनमा पनि कहिले दु:ख कहिले सुख पालैपालो आइरहन्छन् ।
हरेक ठाउँ पुगेपछि हरेक भूगोल टेकेपछि त्यसको बेग्लै रुप देख्न पाइन्छ , बेग्लै स्वाद चाख्न पाइन्छ । यो संसार भनेकै अनेकन रुप रङ, स्वाद, संस्किृति र रहनसहनको कोलाज हो । एक घण्टाको पैदलयात्रा पश्चात क्याम्पमा पुग्दा नेपाली तथा विदेशी पर्यटकहरुको चहलपहल देखिन्थ्यो । प्रकृतिको काखमा अवस्थित होटलहरु निकै सुन्दर र स्वच्छ देखिन्थे । होटलको आँगनबाट मनमोहक हिमाली दृश्यहरु नियाल्न सकिने भएपनि दुर्भाग्यवश: त्यो दिन त्यहाँ पुग्ने पर्यटकहरुले भने त्यसको लाभ उठाउन सकेनौँ । आकाशमा डम्म बादल थियो । हरिया डाँडाहरू कुहिरोले ढाकिएका थिए ।पानी सिमसिम परिरहेको थियो । सुन्दर दृश्यावलोकन गर्ने तीव्र रहरले केही समय प्रर्थना गर्दै कुरिरहेँ। झरीले बिदा लिने छाँटकाँट नदेखेपछि आफूसँग पनि समय थोरै भएकोले त्यहाँबाट बिदा हुने निणर्य गरेँ र छाताको सहारामा लुम्लेतर्फ झरेँ । जाँदाभन्दा यो बाटो बिल्कुल फरक थियो तर निकै रमाइलो थियो । लुम्लेतर्फ झर्दैगर्दा त्यहाँ बिताएको छोटो तर रमणीय क्षणले पछ्याइरह्यो ।
पोखराबाट झण्डैँ २१ कि मी को दुरीमा पर्ने धम्पुस गाउँ अनि त्यहाँबाट करिव एक घण्टाको पैदलयात्रामा सजिलै पुग्न सकिने अष्ट्रे्लियन बेस क्याम्प , छोटो पैदलयात्रामार्फत रमणीय दृश्यहरुको अवलोकन गर्न सकिने ठाउँ रहेछ ।




