चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा कलाकारको सुरक्षाको जिम्मा गडी सेक्युरिटीलाई दिइएको छ ।

कलाकार भनेको राष्ट्रका गहना भएकाले अवार्ड कार्यक्रममा आउने कलाकारको सुरक्षा र सम्मानका लागि निजी क्षेत्रबाट सुरक्षाको व्यवस्था मिलाइएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा असोज २५ गते हुने अवार्ड वितरण तथा सम्मान कार्यक्रममा धेरै कलाकार आउने र कलाकारलाई कार्यक्रम अवधिभर सुरक्षित भएर बस्ने वातावरण मिलाउनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सुरक्षा व्यवस्था मिलाइएको कार्कीको भनाइ छ ।
चितवनको भरतपुर-१० मा रहेको गडी सेक्युरिटीले जिल्ला तथा जिल्ला बाहिर हुने विभिन्न कार्यक्रम तथा संघ/संस्थामा सेक्युरिटी गार्ड पठाएर सुरक्षा दिँदै आएको छ । जिल्लामा हुने ठूला-ठूला कार्यक्रम समेत सफलतापूर्वक सहज रुपमा सम्पन्न गराउन गडी सफल भएकाले कलाकारको सुरक्षाको जिम्मा गडी सेक्युरिटीलाई दिइएको कार्कीको भनाइ छ ।
गडी सेक्युरिटीका सञ्चालक आश्विन गोलेले अवार्ड वितरण तथा सम्मान कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनका लागि कलाकार सहित कार्यक्रम स्थलको सम्पूर्ण सुरक्षा गर्न गडी सक्षम रहेको बताउनुभयो । कार्यक्रमलाई सहज रुपमा सम्पन्न गर्नका लागि गडीले दक्ष र अनुभवी सुरक्षागार्डलाई कार्यक्रम स्थलमा तैनाथ गर्ने गोलेले बताउनुभयो ।




