सर्लाही । सर्लाहीको बागमती नगरपालिका १२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो ।
सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको भुस लोड गरिएको थियो । त्यसभित्र २८ वटा प्लास्टिकका बोरा थिए । बोराभित्र ८२ वटा प्लास्टिकका बाल्टिन थिए । प्रतिबाल्टिन १० किलोका दरले जम्मा ८२० किलो काजु लुकाइएको थियो ।
बरामद काजुको बजार मूल्य करिब १२ लाख ३० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ । साथै, उक्त तस्करीमा प्रयोग गरिएको ट्रकको मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ । काजु र ट्रकको संयुक्त मूल्य ३७ लाख ३० हजार रुपैयाँ पुग्छ ।

तस्करीको आरोपमा ट्रक चालक सर्लाही, बरहथवा नगरपालिका १३ बस्ने ५६ वर्षीय राजवंशी झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडी, चालक र बरामद माल सामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कर्मैयामा राखिएको छ ।
खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ ।




