महोत्तरि । जिल्लाको टुटेश्वर साझेदारी वन क्षेत्रमा निषेधाज्ञा र कफ्र्युको मौका छोपेर ‘चौका’ हानिएको छ । सो क्षेत्रमा अनधिकृत रूपमा २०० भन्दा बढी रुख कटान गरेको पाइएको छ । जेनजी विद्रोहपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा र कफ्र्युको मौका छोपेर अज्ञात समूहबाट वन क्षेत्रका धेरैजसो सालका रुखहरू काटिएको जिल्ला वन कार्यालयले जनाएको छ । टुटेश्वर मन्दिर, गढन्त र चेरु जाने बाटोमा २०० भन्दा बढी रुख काटिएको अवस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख अजय मिश्रले बताए । ‘टुटेश्वर साझेदारी वनभित्र टुटेश्वर मन्दिर, गढन्त र चेरु जाने भित्री सडकमा गन्ती गर्दा २१६ रुख काटिएको अवस्थामा शुक्रबार फेला परेका छन्,’ उनले भने, ‘यसको विषयमा पारम्भिक अनुसन्धान अगाडि बढाइसकिएको छ । दोषीलाई कडा कारबाही गर्छौं ।’

उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार रुख कटान गर्नेहरू स्थानीय नै भएको बताए । यसमध्ये केहीलाई पहिचान गरेर पक्राउ गरिसकिएको र केही फरार अवस्थामा रहेको उनको भनाइ छ । चुरे क्षेत्रमा फडानी र अतिक्रमण भएर चिन्ता बढिरहेको बेला यति धेरै संख्यामा रुख फडानी हुनुलाई गम्भीररूपमा लिइएको जिल्ला वन कार्यालयले जनाएको छ ।
शुक्रबार बेलुका जिल्ला प्रमुख अधिकारी नारायण रिसालसहितको जिल्लास्तरीय अनुगमन टोलीले क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेको थियो । प्रजिअ रिसालका अनुसार धेरैजसो सडक किनारमा ठुलठुला रुख काटिएको छ भने यसैको कारण आवतजावतसमेत अवरुद्ध बनेको छ ।
सडकको किनारमा मात्र रुख काटिनुलाई कतिपयले सडक चौडा बनाउने योजनाअन्तर्गत स्थानीयले नियोजितरूपमा नै कटान गरेको अनुमान गरेका छन् । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार जिल्लामा २२ हजार २४६ हेक्टर क्षेत्रफलमध्ये साझेदारी वनले ४ हजार ७९१ हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी, सामुदायिक वनले ७ हजार ९४५ हेक्टर, सागरनाथ वन परियोजनाले ६ हजार २४५ हेक्टर, राष्ट्रिय वन क्षेत्र ३ हजार २४५ हेक्टर र कवुलियती वन १९ हेक्टर रहेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मन्दिर वरपर टुटेश्वरनाथ धार्मिक वनले समेत २१.५ हेक्टर क्षेत्रफल ओगटेको छ । साझेदारी वनको ४ हजार ७९१ हेक्टर क्षेत्रफलमध्ये टुटेश्वर साझेदारी वनले मात्र १ हजार ३३४ हेक्टर ओगटेको छ । जहाँ साना र ठुला गरेर ५० हजारभन्दा बढी रुख–बिरुवा छन् ।यो क्षेत्रमा यसअघि पनि केही मात्रामा तस्करी भएपनि एकैपटक यति ठुलो संख्यामा रुख काट्नुले वन तथा उपभोक्ता समिति नै सशंकित बनेको छ । कतिपयले यसको मुख्य जिम्मेवार उपभोक्ता समिति नै भएको आरोप लगाएका छन् ।
यो वनभित्र ५० प्रतिशतभन्दा बढी सालका रुख थिए । वर्षौं पुराना रुख छानीछानी काटिनुले स्थानीयको नै संग्लनतामा तस्करी भएको वन अधिकारीहरूको निष्कर्ष छ । २१६ रुखमध्ये १९१ वटा त वर्षौं पुराना सालका रुख जथाभावी रूपमा काटिएको पाइएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए । उनका अनुसार बाँकी १६ वटा अन्य प्रजातिका रुख पनि काटिएको छ ।
अघि बढ्यो अनुसन्धान
यसैबीच, जिल्ला वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धान स्थानीयतिर नै तेर्सिएको छ । कतिपय स्थानीय जनप्रतिनिधिले आफूहरूको संग्लग्नतालाई ढाकछोप गर्न चलखेलसमेत गरेको स्रोतले बताएको छ । जिल्ला अनुगमन क्षतिग्रस्त क्षेत्रमा अनुगमन गर्न पुगेर स्थानीय सरोकारवालाहरूलाई सम्पर्क हुन नसकेको वन अधिकारीहरूले बताए । यता, उक्त वन उपभोक्ता समितिका सदस्य सूर्य विक भने सम्पर्कमा आएका छन् । विक सोही ठाउँबाट प्रतिनिधित्व गर्छन् । रुस कटानमा सदस्य विकको संग्लग्नता भएको हुनसक्ने वन अधिकारीहरूको आशंका छ । तर, विकले भने वन फडानीमा आफ्नो कुनै संग्लनता नभएको प्रष्ट पारेका छन् । उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताए । ‘जेनजी आन्दोलनको नाममा मौका छोपिएको रहेछ । त्यो बेला म घरमै थिएँ, पछि हेर्दा विध्वंश बनाएर रुख काटिएको रहेछ,’ उनले भने,’ समितिले गरेको निर्णयअनुसार अनुसन्धान प्रक्रियामा सहयोग गर्न तयार छु ।’
यति ठुलो घटना हुँदा अन्य जनप्रतिनिधिहरू भने मौन छन् । कतिपयले रुखकै कारणले भित्री सडकमा दुर्घटना बढेको हुनाले उनीहरूकै निर्देशनमा रुख काटिएको दाबी गरे । क्षतिग्रस्त क्षेत्रनजिक रहेको गाउँका बासिन्दासँग यो विषयमा बुझ्न खोज्दा कसैले पनि प्रतिक्रिया दिन चाहेनन् । आवतजावत सहज बनाउन नै गाउँलेकै मिलोमतोमा रुखहरू काटिएको हुन सक्ने जिल्ला अनुगमन टोलीको समेत निष्कर्ष रहेको छ ।
‘तर, अपराध गर्नेहरूलाई बचाउन आन्तरिकरूपमा स्थानीय जनप्रतिनिधि र नेताहरू नै लागिपरेका छन्,’ नाम नखुलाउने सर्तमा एक नेताले भने ‘मलाई पनि धेरैले सम्पर्क गर्नुभएको थियो, तर मैले यस्ता विषयमा कसैलाई बचाउन हुँदैन भनेको छु ।’
महोत्तरीमा भयावह बन्दै वन र चुरे दोहन
महोत्तरीमा मात्र १४ हजार ७३२ हेक्टर क्षेत्रफल चुरे क्षेत्रमा पर्दछ । यो क्षेत्रफल अधिकांश जिल्लाको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा पर्छ । वन क्षेत्रसमेत अथाह रहेको यही पालिकामा नै दोहन उत्खनन भयावह बन्दै गएको विभिन्न तथ्यांकले देखाएको छ । तर, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷०८२ मा मात्र मधेस प्रदेशमा ५ हजार ६९२ हेक्टर वन अतिक्रमणमा परेको पाइएको छ । महोत्तरीमा मात्र ३२९.८० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।

यतिसम्मकी जिल्लामा मन्त्री र अभियन्ताको नाममा समेत वन अतिक्रमण गरेर बस्ती निर्माण भइरहेको सामुदायिक वनहरूले जनाएका छन् । सामुदायिक वनको नक्सा भएको ठाउँसमेत रहेको बर्दिवासकै १६ बिघामा वन फडानी गरेर बस्ती विकास भएको देखिन्छ ।
सार्वजनिक वन क्षेत्रहरू क्रसरमाफियाको निशानामा
केहीदिनअघि मात्र बर्दिवासको बिजलपुरामा भयावह रूपमा नदीजन्य पदार्थ उत्खनन भयो । वृक्षारोपण गरिएको बिघौबिघा जग्गा क्षतविक्षत बनाइयो । रातारात ५०औँ लाख बराबरको उत्खनन गरेर नदीजन्य पदार्थ तस्करी गरिएको पाइएको छ ।
तस्करीमा संग्लनहरूको पहिचान पनि भयो, तर अहिलेसम्म उक्त घटनाको छानबिन हुन सकेको छैन । जिल्ला वन कार्यालयले स्थलगत अध्ययन गरेर प्रतिवेदन बनाएता पनि सरोकारवालाहरूले अझै मुद्दा प्रक्रिया अगाडि बढाउन नसक्नुले उत्खननलाई प्रोत्साहन गरेको पुष्टि गरेको छ ।

जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्णले रातारात लाखौँ क्षति गर्नेहरूलाई कारबाही गर्न वनलाई निर्देशन दिएको बताए । यो त एउटा उदाहरण मात्र हो, जिल्लाको गौशाला र बर्दिवासमा हुने यस्ता दोहन निक्कै भयावह खालका छन् ।बर्दिवासकै रम्तेलडाँडामा भएको वन फडानी र रातारात लालपुर्जा बनाएर वन क्षेत्रलाई आफ्नो नाममा बनाएर लालपुर्जा बनाएको घटना अझै सेलाएको छैन । विकासका नाममा नगरप्रमुख, वडाध्यक्षलगायतले समेत अवैधानिक दोहनलाई प्रोत्साहन गरेको देखिन्छ । वडामा भएका विकासमा समेत क्रसर उद्योगबाट खरिद गर्नेभन्दा पनि सिधा नदीबाट दोहन गरेर ल्याउने गरेको स्थानीयहरू बताउँछन् ।
स्थानीयले नै रुख काटेको पहिचान गरेका छौँ ः विनय झा, अध्यक्ष, टुटेश्वर साझेदारी वन उपभोक्ता समिति
रुख काट्ने कतिपय मानिसलाई हामीले पहिचान गरिसकेका छौँ । एक नाम थाहा नभए पनि मैले १ व्यक्तिको हुलिया सुरक्षा निकायलाई भनिसकेको छु । हाम्रै समितिका केही साथीको सग्लनतासमेत हुन सक्छ हामी पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेका छौँ । केही पक्राउ परिसके अब केही पक्राउ पर्नेवाला छन् । उनीहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढ्नेछ । जेनजी आन्दोलनको मौकामा जुन हर्कत भएको छ, त्यो निक्कै दुःखद् हो ।
प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको छ ः अजय मिश्र, जिल्ला वन अधिकृत
साझेदारी वनका २१६ रुख काटिएको छ । सडक पूर्णरूपमा अवरुद्व छ । वर्षौं पुराना रुख मात्र काटिएको छैन, बढ्दै गरेका विरुवाहरू पनि ध्वस्त बनाइएको छ । कसले के गर्न सक्छ र ? भन्ने चुनौती दिँदै जुन ढंगले जुन अपराध गरिएको छ, त्यो अत्यन्तै दुःखद् छ । स्थानीयहरूको नै मिलोमतोमा उक्त विध्वंश मच्चाइएको भन्ने हामीले निष्कर्ष निकालेका छौँ । हामीसँगै प्रदेश वन निर्देशनालयका प्रतिनिधि, जिल्ला सुरक्षा संयन्त्र, समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसहित उक्त क्षेत्रको स्थलगत अनुगमन गरिसकेका छौँ । पारम्भिक अनुसन्धान अगाडि बढाइएको छ ।
न्यूज साभार ः विशाल बस्नेत




