…..देउ फिर्ता सरकार मेरो कलम,
लेख्नुछ मैले रातो अक्षरमा कविता ।
म गरिबको कलमहरु बर्षौ बर्ष देखि
तिम्रो निरङ्कुसताको कठघरामा कैद छन् ।
जस्लाई तिम्रो सामन्तको उतेजनाहरुले
बार बार बलात्कार गर्दैछन ।
हो म लेख्न चाहान्छु रातो अक्षरमा
मेरै मौलिक भासा संस्कार र संस्कृति ।
पिछडिएका शोषित, पीडित महिला, दलित र
सर्बहारा बर्गका जन्मसिद्ध नैसर्गिक हक, अधिकार ।
लेख्न चाहान्छु देसद्रोही सरकार अनि
भ्रस्टाचारि, बलात्कारि, अत्यचारीहरुको कालो कर्तुत।
तर धेरै अघिदेखी तिम्रो एकात्मबादी हत्केला
नस्लिय बर्बरताको जुत्ताहरुले कुल्चिरहेका छन
भाचिरहेका छन मेरो बिद्रोही कलम ।।
मैले जातिय बिभेदको बारेमा लेख्दा
कतै जातियबादी त देखेनौ ?
मैले धर्म भित्रको विभेद र अस्तित्वको बारेमा लेख्दा
कतै धार्मिक बिद्रोही धर्म बिरोधि त देखेनौ कतै ?
मैले सिमानाका जिर्ण जङ्गेपिलरको ब्यथा लेख्दा
तिम्रो देश भक्ती र मान प्रतिष्ठानमा
आच त आएन कतै ??
नत्र किन भाच्छौ मेरो बिद्रोही कलमको निभहरु ??
यदि यस्तै हो भने मेरो कलम लाई हैन
मलाई थुन देशद्रोहिको मुद्दामा
लगेर झुन्डाईदेउ सिफलको रुखमा
नत्र कहिले बन्द हुनेछैन मेरो कलमको क्यापहरु
र लेखिरहनेछु रातो अक्षरमा
बिद्रोही कबिताहरु ।।
जब मेरो कलमलाई पहिलोपटक महिनावारी भयो
जब रातो अक्षर रक्तस्राव झै बगेर रङ्गिए सेतो कागज
त्यही समय देखि तिमीले दमन गरेको हो ।
र त्यहिसमय तिमीले छाउ गाेठमा बन्द गरेको हो ।
तर अब बिद्रोह गर्दैछन् ती कलम हरुले
ताेड्दैछन छाउ गाेठकाे ढाेका र पर्खाल ।
सरकार यदि यो कलम समाउने हातहरुले
चिसो बन्दुकको नालहरु समाए भने
रोक्न सक्छ तिम्रो सामन्त साम्राज्य जोगाई रहेका
निर्दोष बङ्कर हरुले ?……✍️
# लेखक : सरिना किराँती लामा,पुर्ब जनमुक्ति सेना ।




