साइबर अपराध
लेखक – एन्जल मोक्तान
कक्षा – १०, अक्सफोर्ड एकेडेमी, लालबन्दी

सर्लाही । आजको २१औँ शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ। कम्प्युटर, इन्टरनेट, मोबाइल, कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) र डिजिटल माध्यमले मानव जीवनलाई सजिलो र गतिशील बनाएको छ । तर, प्रविधिको दुरुपयोग बढ्दै जाँदा यो मानव समाजका लागि गम्भीर खतरा बन्दै गएको छ । प्रविधिले जहाँ एकातिर सहजता र प्रगति ल्याएको छ, त्यहीँ अर्को तिर यसको गलत प्रयोगले “साइबर अपराध” जस्ता समस्या जन्माइरहेको छ ।

साइबर अपराध के हो ?
साइबर अपराध भन्नाले कम्प्युटर, इन्टरनेट, मोबाइल वा अन्य डिजिटल प्रविधिको प्रयोग गरी गरिने गैरकानुनी र हानिकारक कार्यलाई जनाउँछ । यसमा अरूको फेसबुक वा इन्स्टाग्राम ह्याक गर्ने, बैंक खाताबाट रकम चोरी गर्ने, नक्कली वेबसाइटमार्फत पैसा ठग्ने, अश्लील सामग्री पोस्ट गर्ने, अफवाह फैलाउने वा अरूको व्यक्तिगत जानकारी बिना अनुमति प्रयोग गर्ने कार्य पर्छन् ।
विश्वव्यापी रूपमा इन्टरनेट प्रयोगकर्तामध्ये करिब एकतिहाइ व्यक्ति कुनै न कुनै समयमा साइबर अपराधको सिकार हुने गरेको तथ्यांकले देखाउँछ । नेपाल पनि यसबाट अछुतो छैन । देशमा इन्टरनेट प्रयोगकर्ता ३ करोडभन्दा बढी छन् । तर, यसको गलत प्रयोग बढ्दै जाँदा समस्या गम्भीर बन्दै गएको छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार २०७८÷७९ मा झण्डै १० हजार उजुरी दर्ता भएका थिए भने २०७९÷८० मा यो संख्या १६ हजार नाघ्यो। तीमध्ये धेरैजसो सामाजिक सञ्जालसम्बन्धी अपराध हुन्—जस्तै फेसबुक ह्याक, नक्कली खाता खोल्ने, वा अपमानजनक सामग्री राख्ने। त्यसपछि अनलाइन आर्थिक ठगी र अश्लील सामग्रीका घटनाहरू प्रमुख छन् ।

मुख्य प्रकारका साइबर अपराधहरू
१. ह्याकिङ (ज्बअपष्लन)ः कम्प्युटर वा मोबाइल प्रणालीमा अनधिकृत प्रवेश गरी डेटा चोरी वा नोक्सानी पु¥याउने कार्य ।
२. साइबर ठगी (इलष्लिभ ँचबगम)ः नक्कली वेबसाइट वा लिंकमार्फत बैंक विवरण लिई रकम चोरी गर्ने वा आकर्षक अफर देखाएर ठगी गर्ने कार्य ।
३. साइबर बुलिइङ (ऋथदभच द्यगििथष्लन)ः इन्टरनेटमार्फत गालीगलौज, धम्की वा अपमान गरेर मानसिक यातना दिने कार्य ।
४. फेक आइडी र बदनाम अभियानः अरूको नाममा नक्कली खाता खोली झूठा सूचना फैलाउने कार्य ।
५. अश्लील सामग्रीको दुरुपयोगः अश्लील फोटो वा भिडियो बनाउने, शेयर गर्ने वा ब्ल्याकमेल गर्ने अपराध, जुन अहिले नेपालमा पनि तीव्र रूपमा बढेको छ ।
साइबर अपराधका प्रभावहरू
१. आर्थिक प्रभावः अनलाइन बैंकिङ, ई–सेवा वा मोबाइल एपमार्फत हुने ठगीका कारण हरेक वर्ष लाखौं रुपैयाँ नोक्सानी हुँदै आएको छ । सामान्य नागरिकदेखि ठूला व्यवसायीसमेत ह्याकिङ र फिसिङको सिकार बन्ने गरेका छन् ।
२. व्यक्तिगत गोपनीयताको हननः अरूको फोटो वा निजी जानकारी चोरी गरी ब्ल्याकमेल गर्नुले व्यक्तिको जीवनमा ठूलो संकट ल्याउँछ ।
३. सामाजिक प्रभावः गलत सूचना वा अफवाह फैलाउँदा समाजमा अविश्वास, विभाजन र दंगा फैलिने जोखिम रहन्छ ।
४. मानसिक प्रभावः साइबर बुलिइङ र अपमानका कारण युवापुस्ता र महिलामा मानसिक तनाव, डर र आत्मविश्वासको कमी देखिएको छ । कतिपय अवस्थामा आत्महत्यासम्मका घटना पनि भएका छन् ।

नेपालमा कानूनी अवस्था र प्रयास
नेपाल सरकारले २०६३ सालमा सूचना प्रविधि ऐनमार्फत साइबर अपराध नियन्त्रणको प्रयास गरेको भए पनि प्रविधिको तीव्र विकासले यो ऐन अहिले अपर्याप्त भएको छ । त्यसैले यसलाई सुधार गरी डिजिटल युगअनुसार अद्यावधिक गर्नुपर्छ । सन् २०७८ मा नेपाल प्रहरीले साइबर ब्युरो स्थापना गरेको छ, जसले अनुसन्धान, अपराधी पहिचान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, अझै जनशक्ति, प्रविधि र स्रोतको अभावले यसको प्रभावकारिता सीमित छ ।
साइबर अपराध नियन्त्रणका उपायहरू
१. कानूनी सुधार र कडाइः सूचना प्रविधि ऐनलाई अद्यावधिक गरी अपराधीलाई कडा सजाय दिने व्यवस्था गर्नुपर्छ ।
२. साइबर प्रहरी सबलीकरणः ब्युरोमा तालिम, जनशक्ति र प्रविधिको सशक्तीकरण गर्नुपर्छ ताकि अपराध छिटो पत्ता लगाउन सकियोस् ।
३. साइबर शिक्षा र सचेतनाः विद्यालय, कलेज र सामुदायिक तहमा साइबर सुरक्षा शिक्षा आवश्यक छ । विद्यार्थीलाई पासवर्ड, गोपनीयता र जिम्मेवार इन्टरनेट प्रयोगका बारेमा सिकाउनुपर्छ ।
४. व्यक्तिगत सावधानीः बलियो पासवर्ड प्रयोग गर्ने, नचिनेका लिङ्कमा क्लिक नगर्ने, निजी जानकारी नबाड्ने, र साइबर ठगी वा धम्कीमा तुरुन्त प्रहरीलाई जानकारी दिने ।
५. अभिभावक र शिक्षकको भूमिकाः बालबालिकाले इन्टरनेट प्रयोग गर्दा निगरानी र मार्गदर्शन गर्नुपर्छ ।

निष्कर्ष
साइबर अपराध आजको डिजिटल युगमा नेपालको लागि गम्भीर चुनौती बनेको छ । हजारौं घटना दर्ता भइरहे पनि अझ धेरै पीडितहरू डर वा लाजका कारण मौन बस्छन् । यो केवल प्रविधिको समस्या होइन, सामाजिक र मानसिक दुवै समस्या हो । त्यसैले कानूनी सुधार, प्रविधिगत सबलीकरण, सचेतना र व्यक्तिगत जिम्मेवारी सबैको संयुक्त प्रयास अपरिहार्य छ । प्रविधिको सदुपयोगले देशलाई समृद्ध र पारदर्शी बनाउन सकिन्छ, तर दुरुपयोग रोक्न नसके यो नै समाजका लागि विनाशकारी हतियार बन्न सक्छ ।
त्यसैले हरेक नागरिकले “सचेत प्रयोगकर्ता” बन्नुपर्छ, किनकि सुरक्षित इन्टरनेट प्रयोग नै सुरक्षित समाजको आधार हो ।




