प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन–४, सासापुरस्थित माईरानी मिक्चनी माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर मिक्चनको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ले दीप प्रज्वलन गर्दै रिबन काटेर भवनको उद्घाटन गर्नुभयो।
संघीय सरकारको शहरी विकास मन्त्रालयबाट प्राप्त एक करोड रुपैयाँको बजेटमा टेन्डर प्रक्रियामार्फत ४० प्रतिशत बिलोमा निर्माण सम्पन्न गरिएको बालबालिका तथा अपाङ्गमैत्री भवन उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले विद्यालयलाई विद्यालयजस्तो बनाउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “ठूलो भवनले मात्रै विद्यालयको स्तर उकास्दैन। विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न शिक्षक, अभिभावक र विद्यार्थी सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।” बुढाथोकीले शिक्षकलाई समयपालन र कर्तव्यनिष्ठ बन्न, अभिभावकलाई सन्तान विद्यालय गए–नगएको निगरानी गर्न र विद्यार्थीलाई गृहकार्य गरेर नियमित विद्यालय आउने सुझाव दिनुभयो।

कार्यक्रममा उपप्रमुख हरिमाया घलानले विद्यार्थीहरूलाई परिश्रमी भई भविष्यमा साहित्यकार, इन्जिनियर, प्रोफेसर वा चिकित्सक बनेर विद्यालयको नाम उज्ज्वल बनाउन आग्रह गर्नुभयो।

त्यस्तै वडा अध्यक्ष केशवराज थापाले विद्यालयमा नैतिक र व्यवहारिक शिक्षासँगै विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षा सञ्चालनमा आएको जानकारी दिनुभयो। उहाँले माध्यमिक तह (कक्षा १२) सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो।
वि.सं. २०२८ सालमा पूर्व–प्राथमिक तहदेखि शुरु भएको माईरानी मिक्चनी माध्यमिक विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा ४७० जना विद्यार्थी अध्ययनरत छन् भने मावि तहको पढाइ दरबन्दीविहीन शिक्षकहरूको सहयोगमा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।

विद्यालयका विद्यार्थीहरूले एसईई परीक्षामा करिब ५० प्रतिशत नतिजा ल्याउन सफल भएका छन्। उद्घाटन कार्यक्रममा शिक्षक कमल न्यौपानेले सञ्चालन गर्नुभएको थियो भने बासुदेव साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स–साना बालबालिकाले नृत्य प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।




