प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहिको हरिवन नगरपालिकामा आवधिक नगर विकास योजना तर्जुमा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बागमती सेवा समाज, हरिवनको आयोजनामा काठमाण्डौ विश्वविद्यालयको प्राविधिक सहयोग र हेल्भेटास नेपालकाे आर्थिक सहयोगमा ‘हाम्रो शहर’ परियोजनाअन्तर्गत कार्यक्रम होटल होलिडे इन, नयाँरोडमा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख रमेश बुढाथोकी कमलको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा नगर उप–प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, विषयगत शाखा प्रमुखहरू, वडा सचिवहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजका कार्यकारी निर्देशक सुनिल कुमार साह ले स्वागत गर्नु भएको कार्यक्रममा हाम्रो शहर परियोजना का कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आवधिक नगर विकास योजना तर्जुमाको आवश्यकता र यसले नगरको समग्र विकासमा पुर्याउने योगदानबारे जानकारी गराए। सहजकर्ता बसन्त भट्टराई र पुष्कर मणि घिमिरेले योजना तर्जुमा प्रक्रियामा देखिने चुनौती, समाधानका उपाय र योजनाबाट प्राप्त हुन सक्ने अवसरहरूबारे विस्तृत रूपमा प्रस्तुति दिएका थिए।

बागमती सेवा समाजकि सामुदायिक परिवर्तन सहजकर्ता विधा पौडेलका अनुसार ‘हाम्रो शहर’ परियोजनाअन्तर्गत हरिवन नगरपालिका वडा नम्बर ८ र ११ मा विभिन्न टोल विकास संस्था गठन गरी सुन्दर, हराभरा, व्यवस्थित र दिगो शहर निर्माणका लागि विगत एक वर्षदेखि विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।
कार्यक्रमले नगर विकास योजना तयार पार्ने प्रक्रियामा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाबीच आपसी समन्वय र सहभागिता अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




