प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको लालबन्दी–१ नवलपुरमा रहेको जय श्रीराम बचत तथा ऋण सहकारी संस्थाले ७८ जना बाल बचतकर्ता सहित ९३ जनालाई सम्मान र पुरस्कृत गर्दै १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष रामप्रमोद महतोको अध्यक्षता तथा जिल्ला बचत ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्यको प्रमुख आतिथ्यतामा सभा हरिवन–३ स्थित रामबहादुर पुलामी आधारभूत विद्यालयको प्रांगणमा सम्पन्न भएको हो।

कार्यक्रममा वक्ताहरूले सहकारीका मूल्य–मान्यता, नीतिनियमअनुसार संस्थाको संचालन तथा शेयर सदस्यले समयमै ऋण तिर्ने र नियमित बचत गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका थिए। सहकारीमा ‘आफैँ मालिक, आफैँ ऋणी’ हुने अवधारणाले सदस्य स्वयं नाफाको साझेदार हुने भएकाले आर्थिक कारोबार सहकारीमार्फतै गर्न आग्रह गरिएको थियो।

प्रमुख अतिथि आचार्यले सहकारीबाट लिएको ऋण नतिर्ने प्रवृत्तिबाट संस्थामा समस्या देखिने उल्लेख गर्दै समयमा ऋण नतिर्ने सदस्यलाई सहकारीले कारोबार मात्र होइन, स्थानीय तहका सेवासुविधा, सिफारिस तथा पासपोर्ट प्रक्रियामा समेत रोक लाग्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराउँदै भ्रामक प्रचारमा नपर्न आग्रह गरिन्।

यसैबीच, सहकारीका व्यवस्थापक तिर्थनारायण महतोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ४करोड ९३ लाख ९८ हजार २सय ७७ रुपैयाँको कारोबार गर्दै १० लाख ७० हजार ९ सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

सहकारीले उत्कृष्ट बचतकर्ता, असल ऋणी, जेष्ठ शेयर सदस्य तथा सर्वाधिक शेयर खरिद गर्ने सदस्यहरूलाई प्रशंसापत्र र खादा लगाएर सम्मान गरेको थियो। साथै, वर्षभरि ६ हजार रुपैयाँभन्दा बढी बचत गर्ने ७८ जना बाल बचतकर्तालाई एक–एक थान स्कुल ब्याग प्रदान गरी सम्मान गरिएको सचिव श्यामसुन्दर महतोले जानकारी दिए।

२०६७ सालमा ३६ जना शेयर सदस्यबाट सुरु भएको सहकारी १५ वर्षपछि ८ सय ६६ सदस्य र ६३ लाख ८८ हजार ५सय रुपैयाँ शेयर पूँजीमा विस्तारित भई हाल हरिवन र लालबन्दी दुवै नगरपालिकामा सेवा विस्तार गर्न सफल भएको अध्यक्ष महतोले बताए।

साधारण सभामा संस्थाका पूर्वअध्यक्ष खुशीलाल महतो, शिवशंकर महतो, लक्ष्मी महतो, बुद्धिजीवी समाजका जिल्ला अध्यक्ष रामविश्वास महतो, कोषाध्यक्ष चन्द्रकला महतो तथा यशोदा कुमारी महतोलगायतले सहकारी विकासका विषयमा आफ्नो धारणा राखेका थिए।




