सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दीले यस वर्षको ८८स्थानीय प्रतिभा पुरस्कार–२०८२ पत्रकार तथा साहित्यकार कृष्ण थपलिया ‘समर्पण’ लाई प्रदान गर्ने भएको छ । करिब दुई दशकदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय थपलियालाई परिषद्ले २५ हजार रुपैयाँ सहित सम्मान गर्न लागेको हो ।
थपलिया नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष र सूचनाको हकका लागि राष्ट्रिय महासंघ, मधेश प्रदेशका महासचिवसमेत हुन् । उनी रेडियो एकताका संस्थापक शेयर सदस्य र संस्थापक स्टेशन म्यानेजर रही सकेका छन् । न्युज २४ र आर्थिक अभियान दैनिकलगायतका राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनले हाल चियोचर्चो दैनिक र चियोचर्चो अनलाइन सञ्चालन गरिरहेका छन् । उनका कविता, गीत र गजलहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
यसैगरी परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ लेखक रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ कृतिलाई प्रदान गर्ने निर्णय गरेको छ । स्वतन्त्र विज्ञसहितको छनोट समितिले उत्कृष्ट १० कृतिबाट क्षितिजको आख्यानलाई छनोट गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष यो पुरस्कार अखण्ड भण्डारीको ‘बोरा’ कृतिले पाएको थियो ।
त्यस्तै, साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ यसपटक साहित्यकार तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गरिने भएको छ । राणा शासनविरुद्ध कलम चलाएकै कारण सहिद बनेका ‘मकै पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा स्थापना गरिएको कोषबाट गत वर्षदेखि यो पुरस्कार वितरण हुँदै आएको हो । पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै छ । परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार तीनै पुरस्कार आगामी समारोहमार्फत औपचारिक रूपमा प्रदान गरिनेछ ।




