सर्लाही । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने नारासहित आज २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सर्लाहीमा पनि मनाइएको छ ।
दिवसको अवसरमा लालबन्दी, हरिवन, बागमती, हरिपुर, ईश्वरपुरलगायत बिभीन्न पालिकाले कार्यक्रम सम्पन्न गरेका हुन् । ग्रामीण भेगमा स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य योगदान गरिरहेका महिला स्वयंसेविकालाई नै सहभागी गराई यो दिवस सर्लाही जिल्लाभर मनाइएको हो ।
दिवसको अवसरमा सम्मान, र्याली, अन्तरक्रिया लगायतका कार्यक्रम भएका छन् । यो वर्ष स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै पहिलो बन्न सफल लालबन्दी नगरपालिकाले नगरभरीका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई एकैठाउँमा भेला पारेर लालबन्दि नगरपालीकाले सम्मान गरेको छ ।
लालबन्दि नगरपालीकाका १७ वटै वडाका स्वयंसेविकालाई सहभागी गराई लालबन्दी बजार परिक्रमा गर्दै नगर अस्पताल परिसरमा भेला भई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले जानकारी दिए । मिकरानीका अनुसार नगरलाई मधेशमै पहिलो बनाउन महिला स्वयंसेविकाको अतुलननिय भूमिका समेत रहेकाले उनीहरुलाई सम्मान गरिएको हो ।

नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, स्वास्थ्य शाखा संयोजक मिकरानी, सुरेन्द्र खतिवडा लगायत नगरपालीकाका १७ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । खोप कार्यक्रम र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाले उल्लेख्य योगदान गर्दै आइरहेको भएपनि उनीहरुलाई सरकारले उचित पारिश्रमिक भने दिनै सकेको छैन् ।




