सर्लाही । सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।
लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नम्बर १४ नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका सर्लाही प्रहरिले जनायको छ । वाइवालाई बा १२ च ४७१० नम्वरको पिकअप भ्यानमा गाँजा लोड गरेर लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी नगरपालिका–११, हिरापुरबाट पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका वाइवालाई आज शूक्रबार सर्लाही जिल्ला अदालतबाट लागुऔषध सम्वन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान एवं कारवाही अघि बढाइएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका निमीत्त सूचना अधिकारी प्रहरि निरिक्षक बिन्देश्ब यादबले जानकारी दिए । नारायणखोलातर्फबाट गाँजा ल्याइँदै गरेको सूचना पाएपछि लालबन्दिबाट प्रहरि परिचालन भएको थियो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार गाडीका चालक बस्ने सिटमुनी ‘फल्स बटम’ बनाएर लुकाइएको गाँजा बरामद भएको हो । लालबन्दी प्रहरीले यसअघि मङ्सिर १ गते लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रबाट ३८ केजी ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको थियो ।




