प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको सासापुर मा पहिलो चरण अन्तर्गत हरिवन नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक बिकाश शाखा को आयोजना मा हरिवन नगर अस्पतालमा बिहीबार बाट शुरु भएको गोष्ठी सुक्रबार सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको उक्त गोष्ठीको प्रमुख आतिथ्यता हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले गर्नुभएको थियो भने विशेष आतिथ्यता उपप्रमुख हरिमाया घलानको रहेको थियो।

कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, सह–संयोजक श्याम विनोद कुशवाहा तथा हरिवन नगर अस्पतालका इन्चार्ज मोहन घिसिङलगायतले गर्नुभएको थियो। नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले कार्यक्रमका उद्देश्य र प्रगतिबारे जानकारी गराउनु भयो।

गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्दै चालू आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि मंसिरसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। खोप कार्यक्रम, भिटामिन ‘ए’, जुकाको औषधि वितरण, महिला प्रजनन स्वास्थ्य, पोषण कार्यक्रम तथा आमा समूहका गतिविधिहरूलाई थप सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो।

सहभागीहरूले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन आमा समूहको बैठक नियमित गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि पुनर्ताजगी तालिम आवश्यक रहेको तथा आमा समूहलाई दिगो र व्यवस्थित बनाउन कोषको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

कार्यक्रममा हरिवन नगरपालिकाका ११ वटा वडा मध्ये वडा नम्बर १ देखि ६ सम्मका ३९ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकीका प्रमुख, अनमी लगायतको सक्रिय सहभागिता रहेको थियो ।




