प्रेमनाथ पौडेल, सर्लाही । हरिवन नगरपालिका–४ सासापुरस्थित हरिवन नगर अस्पतालमा दुईदिने परिवार नियोजन बन्ध्याकरण शिविर सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सर्लाही मलङ्गवा र हरिवन नगरपालिकाको संयुक्त आयोजनामा शनिवार र आईतवार सञ्चालन गरिएको उक्त शिविरबाट ३८ जनाले मिनी ल्याप बन्ध्याकरण सेवा लिएका छन्।

स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीका अनुसार शिविरको पहिलो दिन १५ जना र दोस्रो दिन अर्थात् आईतवार २३ जनाले मिनी ल्याप बन्ध्याकरण गराएका हुन्।

गत वर्ष ३१ जनाले बन्ध्याकरण सेवा लिएकोमा यस वर्ष ३० जनाको लक्ष्य राखिएको थियो। लक्ष्यभन्दा ८ जना बढीले सेवा लिएसँगै शिविर सफलतापूर्वक सम्पन्न भएको हरिवन नगर अस्पताल सासापुरका इन्चार्ज मोहन घिसिङले जानकारी दिनुभयो। शिविरमा सुनौलो परिवार तथा मेरी स्टोप्स सेन्टरका दुई जना चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको उहाँले बताउनुभयो।

बन्ध्याकरण सेवा लिन आउने लाभग्राहीका लागि हरिवन नगरपालिकाले च्यावनप्राश उपलब्ध गराउनुका साथै घरसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा समेत व्यवस्था गरेको सह–संयोजक सुरेश रायले जानकारी दिनुभयो।





