प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकास्थित हरिवन नगर अस्पताल, सासापुरमा प्रवर्द्धनात्मक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया तथा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमको मधेश प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु काठमाडौँको आयोजनामा मिति आईतबार बाट शुरु भएको समिक्षा बैठक सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख श्री रमेश बुढाथोकी (कमल ) नगर उप–प्रमुख श्री हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज फुंयाल का साथै सप्तरी सर्लाही ,रौतहट बारा, जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरू तथा जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

त्यस्तै, स्वास्थ्य सेवा विभाग अन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका शाखा प्रमुख श्री बाला राईको नेतृत्वमा आएको टोली, युएन एफ पिए का सर्लाहीका जिल्ला संयोजक श्री बच्चालाल महतो, कलैया उपमहानगरपालिका (बारा), चन्द्रपुर नगरपालिका (रौतहट), वागमती, लालबन्दी र हरिवन नगरपालिका (सर्लाही) तथा राजविराज नगरपालिका (सप्तरी) का विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका फोकल पर्सन र विद्यालय नर्सहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
साथै, कार्यक्रम लागू भएका विद्यालयहरूबाट २ जना प्रधानाध्यापक, प्याब्सन तथा एन प्याबसन का प्रतिनिधि सहित करिब ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालय तहमा प्रदान हुँदै आएको स्वास्थ्य तथा नर्सिङ सेवाको प्रभावकारिता, चुनौती र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने हरिवन नगर अस्पताल सासापुर का इन्चार्ज मोहन घिसिङ तथा नर्सिङ निरीक्षक लक्ष्मी आचार्य लाई आयोजक हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक बिकाश शाखा ले विशेष धन्यवाद व्यक्त गरेको छ ।




