सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा दोस्रो चरणअन्तर्गत वडा नम्बर ७ देखि ११ सम्मका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा हरिवन–८ स्थित हरिवन स्वास्थ्य चौकी (साबिक प्रसूति गृह) मा मंगलबारदेखि सुरु भएको दुईदिने गोष्ठी बुधबार सम्पन्न भएको हो।
गोष्ठीको प्रमुख आतिथ्यता हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, सह–संयोजक श्याम विनोद कुशवाहा तथा नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले गर्नुभएको थियो। नर्सिङ निरीक्षक आचार्यले गोष्ठीका उद्देश्य, हालसम्मको प्रगति, प्रजनन स्वास्थ्य, परिवार नियोजन सेवा तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो।
गोष्ठीमा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य क्षेत्रमा आफूहरूले पुर्याएको योगदानबारे चर्चा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि मंसिरसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए।

साथै खोप कार्यक्रम, भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, महिला प्रजनन स्वास्थ्य, पोषण कार्यक्रम र आमा समूहका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

सहभागीहरूले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन आमा समूहका बैठक नियमित गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि पुनर्ताजगी तालिम आवश्यक रहेको तथा आमा समूहलाई दिगो र व्यवस्थित बनाउन कोषको व्यवस्था गरी खाजा–नास्ताको व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए।

कार्यक्रममा हरिवन नगरपालिकाका वडा नम्बर ७ देखि ११ सम्मका ३१ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकीका प्रमुख, अनमी लगायतको सक्रिय सहभागिता रहेको थियो।

यसअघि वडा नम्बर १ देखि ६ सम्मका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको अर्धवार्षिक समीक्षा गोष्ठी गत पौष १७ र १८ गते हरिवन नगरपालिका–४ सासापुरस्थित हरिवन नगर अस्पतालमा सम्पन्न भइसकेको नगर स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल हरिवन नगरपालिकाभित्र ७३ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।




