सर्लाही । नेकपा एमाले हरिवन नगर कमिटीका अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीताराम पोखरेलले आफ्नो ६०औँ जन्मोत्सव सर्लाहीको हरिवनस्थित मानवसेवा आश्रम कैलाशपुरीमा मनाएका छन्।
मानवसेवा आश्रम स्थापना भएदेखि नै निरन्तर आश्रममै जन्मदिन मनाउँदै आएका पोखरेलले यस वर्ष पनि असहाय तथा बेसाहाराहरूसँगै बसेर जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा पोखरेलकी धर्मपत्नी तारा पोखरेल सुवेदीले स्वागत मन्तव्य राख्दै उहाँको पारिवारिक, राजनीतिक र सामाजिक जीवनबारे चर्चा गरिन्।

कार्यक्रमका प्रमुख अतिथि सर्लाही क्षेत्र नं. ३ का पूर्व सांसद तथा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले असहायहरूसँग बसेर जन्मदिन मनाउनु महँगा होटलमा भोज खानुभन्दा कैयौँ गुणा आनन्ददायी हुने बताए। उनले पश्चिमी व्यवहारभन्दा हाम्रो मौलिक संस्कार र परम्परा श्रेष्ठ भएको उल्लेख गर्दै गरिब, असहाय र बेसाहाराको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको बताए। साथै, जन्मदिनलाई आत्मसमीक्षा र नयाँ जीवनको सुरुवातका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा आफूले पनि मानवसेवा आश्रममै जन्मदिन मनाउने प्रतिबद्धता जनाए।

विशिष्ट अतिथि पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले जीवनभर स्मरणीय काम गर्नु नै साँचो सफलता भएको बताउँदै पोखरेलको खुलेर प्रशंसा गरे। हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले फजुल खर्च नगरी सामाजिक कार्यमार्फत जन्मदिन मनाउनु प्रेरणादायी कार्य भएको बताइन्।

कार्यक्रममा एमाले नेता चुडामणि वाग्ले, काँग्रेस नेता डाकुरनाथ खतिवडा, महिला नेतृ पद्मा मोक्तान, संचिता घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

जन्मोत्सवकै अवसरमा पोखरेलले आफ्ना श्रद्धेय गुरुको स्मृतिमा गुरु आमालाई सम्मान गर्नुका साथै आश्रममा सेवारत व्यक्तित्वहरूलाई सम्मान गरे। साथै एमाले क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस भएका हरि उप्रेतीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा एमाले सर्लाही उपाध्यक्ष विदुर प्याकुरेल, विभिन्न सहकारी तथा सामुदायिक वनका प्रतिनिधि, भूमि आयोगका सदस्य, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

जन्मदिनको अवसरमा पोखरेलले आफूलाई अझै २४–२५ वर्षको जस्तै ऊर्जा महसुस भएको बताउँदै आश्रममा आएपछि सेवा गर्ने भावना अझ प्रगाढ हुने भएकाले सधैं यहीँ जन्मदिन मनाउँदै आएको बताए। उनले सो अवसरमा विभिन्न जातका बिरुवासमेत वितरण गरे।
सीताराम पोखरेल नेकपा एमाले हरिवन नगर कमिटीका अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष, मानवसेवा आश्रम हरिवन कैलाशपुरीका अध्यक्ष तथा विभिन्न सात संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिका–९ बाट निर्वाचित वडाध्यक्षसमेत हुन्।




