सर्लाही । किसानले पाउनु पर्ने अनुदान सहितको रकम पाउनु पर्ने मागसहित काठमाडौ पुगेको किसानको प्रतिनीधि मण्डलले किसान माथिबिचौलियाबाट धोका भएको बिषयमा अर्थ मन्त्री र कृषि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
संयुक्त उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष शेष इस्तिहारका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले पाउनु पर्ने अनुदान सहितको रकम भुक्तानी बारे पुनर्विचार गरी छलफल गर्ने आश्वासन दिएको बताए ।
कृषि मन्त्रालयको सिफारिसपछि सम्पूर्ण अनुदान उपलब्ध गराउने प्रतिबद्धता अर्थमन्त्रीले दिएको उल्लेख गर्दै इस्तिहारले भने “चाडै किसानले पाउनु पर्ने रकम उपलब्ध गराइदिन भनेका छौँ । ”
त्यसैगरी बिचैमा उखु किसान प्रतिनिधिको नाममा गएको बिचौलियाहरुको अदुरदर्शी चलखेलका कारण
समस्या आएको सामाजिक अभियन्ता तथा किसान नेता सुनिल लामाले बताए ।
सरकारले तोकिएको समय सीमाभित्र माग सम्बोधन नगरेमा कडा सडक संघर्षमा जानुपर्ने तर्फ पनि मन्त्रालयलाई सचेत गराइएको संघर्ष समितिका बिजय अधिकारीले जानकारी दिए ।

किसानले पसिना बगाएर लगाएको बालीको उचित रकम पाउँ भनी बारम्बार मिल मालिक र सरकारसंँग याचना गरिरहनु पर्दा लज्जा बोध भएको संघर्ष समितिका उपाध्यक्ष सिङ लाल योन्जनको भनाइ छ ।




