सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।
नेकपालाई खासगरी क्षेत्र नं. १ मा उम्मेदवार टुंगो लगाउन सकस परेको थियो । लामो छलफल र समन्वयपछि नेकपाको केन्द्रीय कमिटीले आज दिउँसो पूर्व सांसद प्रमोदकुमार साहलाई टिकट दिएको छ ।
साह २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट सांसदमा निर्वाचित भएका थिए । २०७९ मा भने उनी तत्कालिन जसपा नेपालबाट उम्मेदवार बनेपनि पराजित भए ।
साह केही समयअघि जसपा नेपाल परित्याग गरेर तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । क्षेत्र नं. १ मा सुबास काफ्ले, भरतकुमार थापा, लुमडीप्रसाद धिमाल (लोचन) लगायतले पनि दाबी गर्दै आएकोमा अन्तिममा साहले टिकट प्राप्त गरेका हुन् ।
यस्तै नेकपाले क्षेत्र नं. २ बाट महिन्द्रराय यादव, क्षेत्र नं. ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नं. ४ बाट प्रदेश सभा सदस्यकी प्रत्यासी एवं पूर्व माओवादी केन्द्रकी नेतृ अनिता देवीका छोरा डा. रजनिस रायले टिकट प्रदान गरेको छ ।




