सर्लाही । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छाडेर मधेश झरेका छन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको प्रतिष्पर्धाका लागि काठमाडौं–४ छाडेर मधेश प्रदेशमा पर्ने सर्लाही–४ झरेका हुन् । यहाँ कांग्रेस सभापति थापा कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग आमने–सामने हुने भएका छन् ।
जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा गगनले एक्कासि आफ्नो निर्वाचन क्षेत्र बदल्नुलाई कतिपयले चुनौतीका रूपमा लिएका छन् भने कतिपयले काठमाडौं असुरक्षित भएपछि सुरक्षित क्षेत्र खोज्दै मधेस झरेको टिप्पणी पनि गरेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाको उम्मेदवारीका कारण सिंगो देशको ध्यान अहिले सर्लाही क्षेत्र नम्बर ४ मा केन्द्रित भएको छ । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । एकातर्फ गगन र अर्कातर्फ सो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका अमरेश कुमार सिंह (हाल रास्वपा)को प्रतिस्पर्धाले सबैको ध्यान सर्लाही ४ तर्फ केन्द्रित भएको हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । सोमबार १२ गते बाट चुनावी अभियान सुरु गरेका थापाले एक कार्यक्रममा भने, ‘म यहाँ नेता होइन, बेटा बन्न आएको हु । सर्लाही आइपुगेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सेवा र संवादमै केन्द्रित रहने बताए । धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा उनले आफू फोटो खिचाउन वा हात हल्लाउन मात्रै नभई जनताको सेवक बनेर काम गर्न आएको बताए । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ केन्द्रित हुन पुगेको हो ।
कार्यक्रममा बोल्दै उनले मधेसका विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषय कमजोर रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे । शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिमा आधारित र प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गरिने उनले बताए । युवाहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको थापाको भनाइ थियो ।
सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको बलियो आधार
सर्लाही क्षेत्र नम्बर ४ लाई २०४८ सालको संसदीय निर्वाचनदेखि नै नेपाली कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा लिइँदै आएको छ । २०४८ सालको आम निर्वाचनमा कांग्रेसका तर्फबाट नेता महन्थ ठाकुर निर्वाचित भएका थिए । त्यसपछिको मध्यावधि निर्वाचनमा पनि ठाकुरले नै विजय हासिल गर्दै कांग्रेसको पकड कायम राख्न सफल भएका थिए ।
तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आयो । महन्थ ठाकुर कांग्रेस परित्याग गरी मधेशवादी राजनीतिक धारमा लाग्दै तराई–मधेश लोकतान्त्रिक पार्टी स्थापना गरेर निर्वाचनमा होमिएका थिए । कांग्रेसका तर्फबाट अमरेश कुमार सिंह उम्मेदवार बनेका थिए । त्यही निर्वाचनमा मधेशी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका शिवपुजन रायले ठाकुर र सिंह दुवैलाई पराजित गर्दै कांग्रेसको लामो समयदेखिको जितमा ब्रेक लगाएका थिए।
पहिलो संविधानसभा निर्वाचनमा गुमेको सिट कांग्रेसले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुनः फिर्ता ल्यायो । उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंहले महन्थ ठाकुर र शिवपुजन रायलाई पराजित गर्दै विजय हासिल गरेका थिए । यस जितसँगै सर्लाही–४ पुनः कांग्रेसको खातामा फर्किएको थियो ।
अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी बनेका डा. अमरेश कुमार सिंह भने यसपटक मधेशका छोरा बालेनको नेतृत्वमा सरकार बनाउने कुरा भएकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँछन् । सिंहले २०७० (संविधानसभा) २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन् । २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भएपनि २०७९ मा कांग्रेसको बागी उम्मेदवारको रूपमा स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव जितेका थिए । आफू लगातार त्यस क्षेत्रको जनप्रतिनिधि हुनुका साथै जनताको सुख–दुःखमा सधैं साथमा रहेकाले बाहिरबाट आएका उम्मेदवारलाई क्षेत्रका जनताले नपत्याउने उनले बताए ।
अमरेश कुमार सिंह यहाँ तीनपटक चुनाव जितेको जनप्रतिनिधि हो । मैले यस क्षेत्रका जनतालाई सुखदेखि दुःखसम्म साथ दिँदै आएको बताए । २०७९ मा त मैले कांग्रेसकै उम्मेदवारलाई हराएको हो । त्यतिबेला काम नगरेको संगठनले अहिले पनि काम गर्दैन ।
२०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३, शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएका थिए । २०७९ मा स्वतन्त्र उठेर जितेको अवस्थामा यसपटक त रास्वपा पार्टी र त्यसको संगठन सबै आफ्नो पक्षमा रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको सिंहले बताए ।
यसपटक जेनजी आन्दोलनको बलमा सत्ताको सत्तापलट नै भएको हो । रास्वपा जेनजी आन्दोलनको एउटा स्टेक होल्डर पनि हो । े यसपटक बालेनको नेतृत्वमा सरकार बनाएर परिवर्तन गर्ने जनताको चाहना भएकाले गगन थापा सङ्ग मेरो जीत सुनिश्चित रहेको उनले बताए । प्रधानमन्त्रीको सम्भावित उम्मेदवार, पुरानो गढ, बलियो प्रतिद्वन्द्वी र बहुकोणीय प्रतिस्पर्धा यी सबै कारणले सर्लाही ४ को चुनाव यस पटक केवल स्थानीय होइन, राष्ट्रिय राजनीतिको रूपमा हेरिन थालेको छ ।
अहिले मतदाता संख्या कति
सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बरहथवा, गोडैता र बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको पछिल्लो तथ्याङ्क अनुसार २०७९ को तुलनामा यसपटक मतदाताको संख्या ७.५७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, ८ हजार ५ सय १८ नयाँ मतदाता थपिएसँगै अब सर्लाही ४ मा कुल मतदाता संख्या १ लाख २१ हजार १२ पुगेको छ । यस क्षेत्रमा कुल ५१ वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख २१ हजार १२ रहेको छ । मतदानका लागि ८१ मतदान स्थल र १ सय ५४ मतदान केन्द्र तोकिएका छन् ।
यहाँ रहेका ८१ वटै मतदान स्थल सुरक्षाको दृष्टिले ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सीमावर्ती क्षेत्र, विगतका चुनावी अनुभव र बहुकोणीय प्रतिस्पर्धाका कारण सुरक्षालाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ ।
सर्लाही–४ को निर्वाचन यस पटक केवल स्थानीय प्रतिस्पर्धामा सीमित छैन । कांग्रेसको परम्परागत विरासत जोगाउने प्रयास, पार्टी नेतृत्वको प्रतिष्ठा, बागी राजनीतिबाट उदाएका अमरेश सिंहको निरन्तर प्रभाव र नयाँ राजनीतिक शक्तिको उपस्थिति—यी सबै पक्षले यो निर्वाचनलाई विशेष बनाएका छन् ।
अब सर्लाही–४ का मतदाताले कसलाई रोज्छन् भन्ने कुराले न केवल यस क्षेत्रको प्रतिनिधित्व तय गर्नेछ, फेरि मधेशको राजनीतिक दिशा र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्नेछ ।




