सर्लाही । मुलुकका शीर्षस्थ नेताहरू मैदानमा होमिएको सर्लाहीमा यस पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ मिटरब्याजको समस्या लिएर चुनावी मैदानमा छन् । विकाससँगै सर्लाही ३ मा मिटरब्याज पीडितको समस्या समाधान गर्ने वाचासहित श्रेष्ठ गाउँबस्ती पुगिरहेका छन् । आफ्नो चुनावी अभियानमा श्रेष्ठ निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा तराई मधेसमा वर्षौंदेखि व्याप्त रहेका मिटरब्याजको समस्या आफूले धेरै हदसम्म समाधान गर्न सफल भएको उनको दाबी छ । आफूले चुनाव जिते बाँकी रहेका समस्या समाधान गर्ने र सहुलियतपूर्ण ब्याजदरमा ऋण पाउने वित्तीय संस्था गाउँगाउँ स्थापना गर्ने प्रतिबद्धता उनले गरेका छन् । नेकपाका उम्मेलवार श्रेष्ठको आगमनलाई भने नेकपाले नै ग्रीन जोनमा राख्न सकिरहेको छैन । जोखिम मोलेर मधेस झरेका नारायनकाजिले मिटरब्याजका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य र सिँचाइ, बिउबिजन, मलखाद र उखु किसानको भुक्तानी समयमै नपाउने समस्यालाई पनि हल गर्ने श्रेष्ठ बताउँछन् । तर, संसदीय राजनीतिमा भने श्रेष्ठको रेकर्ड गतिलो भने छैन ।

२०६४ को पहिलो संविधानसभामा मनोनीत सदस्य रहेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित हुन पुगे । २०७४ को चुनावमा श्रेष्ठ आफ्नो गृहजिल्ला गोरखा–२ बाट डा बाबुराम भट्टराईसँग पराजित भए । २०७६ मा राष्ट्रियसभा सदस्य बनेर संसद् प्रवेश गरेका श्रेष्ठले उपप्रधान तथा गृह, भौतिकपूर्वाधार र परराष्ट्र मन्त्रालय सम्हाले । जुन बेला श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग मिलेर भ्रष्टाचार नियन्त्रण गर्न केही महत्वपूर्ण कदमसमेत श्रेष्ठले चालेका थिए ।
संविधान सभा निर्वाचन २०७० मा हरि उप्रेती नेकपा एमालेका बाट चुनाव जितेको जनप्रतिनिधि हून । २०७४ को निर्वाचनमा माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए भने प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–३ बाट एमालेका हरि उप्रेती विजयी भएका थिए । त्यो प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न नसके पनि उप्रेती भने त्यस्ता भाग्यमानी सांसद हुन् जो दुई कार्यकाल मन्त्री हुन पाए । यिनै उप्रेतीले यसपाली पनि सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उमेदवार छन् । कांग्रेसका विनोद खनाल, जसपाका जयप्रकाश राय, रास्वपाका नरेन्द्र साह, जनमतका सुनिलप्रसाद गुप्ता लगायत ३३ जनाले चुनौती दिँदैछन् । हुन त श्रेष्ठ लामो समयदेखि मधेसका जिल्लाहरूको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । तर, २०७९ मा सर्लाही ३ मा माओवादीबाट उम्मेदवार बनेका नरेन्द्र साह रास्वपाबाट उम्मेदवार बनेपछि श्रेष्ठ ठूलो दबाबमा देखिन्छन् ।
माओवादीको मताधार भएको सर्लाही ३ आइपुगेका श्रेष्ठलाई अहिले पूर्वकार्यकर्ता नरेन्द्र नै उनलाई टाउको दुखाइ बनेको देखिन्छ । अहिले रास्वपाका नरेन्द्र साह २०७० सालमा स्वतन्त्र बाट संविधानसभामा मनोनीत भयका थिय र २०७४र २०७९ सालमा भने पराजित भयका थिय । रास्वपाले मधेसी समुदायका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि मधेस तरंगित छ । युवा पंक्ति रास्वपाप्रति आकर्षित देखिँदा पुराना र मधेसवादी दलका उम्मेदवार दबाबमा देखिन्छन् । रास्वपा उम्मेदवार नरेन्द्र साह जनताको समस्या, सपना र भविष्यको नारा दिएर चुनावी मैदानमा होमीयका छन । कांग्रेस र एमालेबाट पनि पहाडी समुदायकै व्यक्ति उम्मेदवार बन्नु र यसअघिको माओवादीका उम्मेदवार रास्वपाबाट श्रेष्ठको प्रतिद्वन्द्वी बनेपछि सर्लाही ३ को चुनाव प्रतिस्पर्धा सङ्ग झन रोचक पनि बनेको छ ।
अहिले मतदाता संख्या कति
क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ केन्द्र स्थापना गरिनेछ । क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कविलासी नगरपालिका साथै बसबरिया गाउँपालिका रहेका छन् । हरिवन, बागमती, चक्रघट्टाका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्दा हरिपुरको १ नम्बर वडा मात्र पर्छ । बरथहवाको ५,६,७,८,९,१०,११,१२ र १६,१७,१८ गरी ११ वटा वडा यही क्षेत्रमा पर्छन् । कविलासी नगरपालिकाका ३,४,५,६, बसबरियाका ४,५,६ नम्बर पनि सर्लाही ३ मा पर्छन् । सर्लाही ३ मा ५१ वडा रहेका छन ।
पछिल्लो निर्वाचन इतिहास
सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी भएका थिए भने तत्कालीन माओवादी केन्द्रका नरेन्द्र साह ३२ हजार १६८ मत ल्याएर दोस्रो भएका थिए । गत निर्वाचनमा कांग्रेस, माओवादी, लोसपाको गठबन्धनलाई पराजित गरेका तत्कालीन एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती अहिले पनि जित्ने दाबी गर्छन् । सबै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा रहेको भन्दै हरि उप्रेतीले आफ्नो जित निश्चित भएको दाबी गरे ।
यता कांग्रेस उम्मेदवार विनोद खनाल पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । सर्लाही ४ मा नेपाली कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेकाले ३ नम्बरमा त्यसको प्रभाव देखिने उनको बुझाइ छ । सभापति थापा मधेस झरेपछि कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको भन्दै सर्लाहीका चारै जना उम्मेदवार विजयी हुने खनालले दाबी गरे ।
व्यक्तिगत रुपमा कुनै उम्मेदवारबारे टिप्पणी गर्न नचाहने नारायणकाजी श्रेष्ठ आफ्नो उम्मेदवारी सर्लाहीका जनताले खुसीका साथ स्वीकार गरेको बताउँछन् । दलीय प्रतिस्पर्धामा सबै उम्मेदवारलाई सम्मान गर्छु । कसैलाई न्यून मूल्यांकन गर्न चाहन्नँ आफ्नो प्रतिस्पर्धीबारे श्रेष्ठको भनाइ छ तर मैले मेरो निकटतम् प्रतिस्पर्धी कसैलाई देखको छैन ।
किन झरे नारायणकाजी श्रेष्ठ सर्लाही
गयको स्थानीय निर्वाचन र समानुपातिक मतको हिसाबकिताब गरेर नारायणकाजी श्रेष्ठ सर्लाही–३ झरेका बुझ्न गाह्रो छैन । २०७९ मा समानुपातिकतर्फ माओवादीले १५ हजार ४ सय ७१, एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए । नेकपासँग विगतको समानुपातिक मत १८ हजार १२६ देखिए पनि श्रेष्ठ,उप्रेती र खनाललाई रास्वपा उम्मेदवार साहको व्यक्तिगत र बालेनको प्रभाव रोक्न भने त्यति सजिलो भने छैन । श्रेष्ठले सर्लाही ३ मा आफ्नो पक्षमा अझै माहोल बढाउन सक्छन् या सक्दैनन्, निर्वाचनको नतिजा त्यसैले तय गर्ने देखिन्छ ।
सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा,कृषि,रोजगार,स्वास्थ सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।




