सर्लाही । सर्लाहीको हरिवनमा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको सात दिने धुप–अगरबत्ती तथा दालमोट निर्माण सम्बन्धी सीपमूलक तालिम प्रमाणपत्र वितरणसँगै सम्पन्न भएको छ।
बौद्धिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्र, हरिवन र कडरिया अगरबत्ती उद्योगको संयुक्त आयोजनामा तथा हरिवन नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम जेष्ठ २५ गतेदेखि सुरु भएको थियो। तालिममा सहभागीहरूलाई सीप हस्तान्तरण गरी स्वरोजगार तथा उद्यमशीलतातर्फ उन्मुख गराउने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
तालिम समापन कार्यक्रम संस्थाकी अध्यक्ष भुवनेश्वरी पन्त कडरिया (अञ्जना) को अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हरिवन नगरपालिकाका ११ वटै वडाबाट सहभागी भएका ५० जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि फुयाँलले नगरपालिकाको सीमित सहयोगबाट समेत प्रभावकारी सीप विकास कार्यक्रम सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने प्रयास प्रशंसनीय रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै व्यावसायिक रूपमा काम गर्न इच्छुक सहभागीलाई नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
“तालिममार्फत सहभागीहरूले माछा होइन, माछा मार्ने सीप प्राप्त गर्नुभएको छ। अब त्यो सीपलाई उत्पादन र आयआर्जनसँग जोड्न आवश्यक छ,” उनले भने।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा हरिवन नगरपालिका वडा नं.८ का अध्यक्ष प्रज्वल डुंगाना ले सिक्ने र सिकाउने कार्य समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तालिमबाट सिकेको सीप प्रयोग गरी उत्पादनमूलक काम गर्न चाहनेलाई वडा कार्यालयले समेत सहयोग गर्ने बताए। नगरपालिकाको ‘एक वडा दुई उद्यमी’ नीति कार्यान्वयनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।

तालिममा सहभागीहरूले आफूहरूलाई सीप सिकाएर आत्मनिर्भर बन्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास बढाउनुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संस्थाकी सदस्य पवित्रा न्यौपाने को सञ्चालन तथा गंगा भण्डारी को स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यपालिका सदस्य गीता राउत, महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेल, महिला तथा बालबालिका शाखा निरीक्षक पूनम हुमागाईं, स्वास्थ्य शाखाका सहसंयोजक सुरेश राय, समाजसेवी तथा संस्थाका सल्लाहकार विदुरकुमार प्याकुरेल, प्रशिक्षक दय उमानाथ कडरिया, अञ्जना नेपाल लगायतले अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास, स्वरोजगार र सामाजिक सशक्तीकरणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

संस्थाकी सचिव विद्या पौडेल का अनुसार तालिमबाट सहभागीहरूले धुप–अगरबत्ती तथा दालमोट उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेका छन्। आगामी दिनमा उनीहरूलाई उद्यम सञ्चालनतर्फ प्रेरित गर्दै उत्पादन तथा बजारीकरणमा समेत सहयोग गर्ने योजना संस्थाले बनाएको छ।




