प्रेमनाथ पौडेल, सर्लाही । श्रमजीवी पत्रकारहरूको संगठन सगरमाथा नेपाल (एसएन) को अध्यक्षमा पुनः रोहित पौडेल सर्वसम्मत रूपमा चयन भएका छन्।
शनिवार सम्पन्न २४औँ वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ समितिमा महासचिव प्रमिला चौधरी, सचिव समीर सुवेदी, कोषाध्यक्ष ज्ञानबहादुर स्याङ्तान, र सदस्यहरू उमा खतिवडा, अमित शर्मा र विनोदकुमार विश्वकर्मा रहेका छन्।
साधारण सभा लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि अधिकारीले कुनै पनि संस्था स्थापना गर्नु मात्रै ठूलो कुरा नभई त्यसलाई दिगो रूपमा सञ्चालन गर्न सक्नु नै सफलता भएको बताउँदै श्रमजीवी पत्रकारहरूको सीप अभिवृद्धि र समाज रुपान्तरणमा योगदान दिनुपर्ने धारणा व्यक्त गरे।
कोषाध्यक्ष स्याङ्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ३ लाख ७० हजार रुपैयाँ आम्दानी–खर्च भएको जानकारी दिए।नसाधारण सभाको अवसरमा संस्थाले चार जना सामाजिक व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान पनि गरेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सोम दियाली, प्रेस युनियन नेपाल सर्लाहीका अध्यक्ष कृष्ण थपलिया लगायतले शुभकामना मन्तव्य दिएका थिए। उनीहरूले संस्था सञ्चालन चुनौतीपूर्ण भए पनि सगरमाथा नेपालले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

सन् २०५९ साल साउन १८ गते जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवा तथा समाजकल्याण परिषद् काठमाडौंमा दर्ता भएको सगरमाथा नेपालले श्रमजीवी पत्रकारहरूको हकहितका लागि निरन्तर क्रियाशील रहँदै आएको छ।

साधारण सभामा २०८० सालमा गरिएको विधान संशोधन, श्रमजीवी पत्रकारहरूको संगठन सुदृढीकरण, र १५ जना सहभागी रहेको फोटो पत्रकारिता तालिम लगायतका गतिविधिहरूको समीक्षा गरिएको थियो। साथै, युवाशक्तिको आवश्यकतामा जोड दिँदै सदस्यहरूले संगठनको विधान अध्ययन र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।




