चोरीको गरगहना किन्ने लालबन्दी ७ स्थित आरके ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका १० चन्द्रपुर बस्ने ४२ वर्षीय रमेश विक र साइरा ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका ६ बस्ने ३१ वर्षीय कुमार विक पनि यसअघि देखि नै प्रहरी नियन्त्रणमै रहेका छन् ।
लालबन्दि । सर्लाहीको लालबन्दी बजार क्षेत्रमा भएका चोरीको घटनामा संलग्न थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विगत केही महिनादेखि घरमा मानिस नभएको मौकामा ताल्चा फोडेर चोरी गर्ने गिरोहका सदस्यमध्येका महोत्तरीको औरही नगरपालिका २ बस्ने २४ वर्षीय रविन महतोलाई लालबन्दी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यसअघि नै यस क्षेत्रमा विशेष गरी सुनका गरगहना चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । हिरासतमा रहेका ति व्यक्तिहरुको बयानका आधारमा महतोलाई हिजो इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । प्रहरीले महतोको घरबाट सुनको झुम्का दुई थान, टप दुई थान, औँठी एक थान, छड्के तिलहरी एक थान, नेक्लेस एक थान, ल्यापटप एक थान र चोरी गर्न प्रयोग भएका फलामका विभिन्न पाँच थान औजारहरु बरामद गरेको छ ।
लालबन्दी प्रहरीले यसअघि बजार क्षेत्रका मानिसहरुको घर फाडेर सुनका गरगहना चोरी गर्ने सर्लाहीको धनकौल गाउँपालिका ६ बस्ने ३५ वर्षीया पिंकीदेवी साह र उनका नातेदार एक नाबालकलाई पक्राउ गरेको थियो । पिंकीदेवी, नाबालक र प्रहरीले महोत्तरीबाट पक्राउ गरेर ल्याएको उमेश महतोसमेत नातेदार नै हुन् । नाबालक, महोत्तरीबाट पक्राउ गरेर ल्याइएका महतो लगायत भएर विभिन्न व्यक्तिको घरमा प्रवेश गरी सुनका गरगहना चोरी गर्ने र पिंकीदेवीले अनुकूल मिलाएर सुनचाँदी पसलमा लगेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
चोरीको गरगहना किन्ने लालबन्दी ७ स्थित आरके ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका १० चन्द्रपुर बस्ने ४२ वर्षीय रमेश विक र साइरा ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका ६ बस्ने ३१ वर्षीय कुमार विक पनि यसअघि देखि नै प्रहरी नियन्त्रणमै रहेका छन् । अनुसन्धानको क्रममा अहिलेसम्म पक्राउ परेका पाँचै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी अनुसन्धान र कारबाही सँगसँगै अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरिले जनायको छ ।






