सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि रोचक राजनीतिक प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र २०७९ सालमा कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान सांसद डा. अमरेश सिंहबीच भिडन्त हुने पक्का भएको छ ।
कांग्रेसले सर्लाही ४ बाट पार्टी सभापति थापालाई उम्मेदवार बनाउने तयारी गरेसँगै चुनावी सरगर्मी बढेको छ । पार्टी नेतृत्वले यस क्षेत्रलाई प्रतिष्ठाको विषयका रूपमा हेरेको छ । गगनले यसअघि जित्दै आएको काठमाडौं ४ छाडेर सर्लाही जान लाग्दा अमरेशको चुनौती पाउने भएका हुन् ।
उता निवर्तमान सांसद डाक्टर अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । उनी सोमबार मात्रै जनकपुरको सभामा रास्वपा प्रवेश गरेका थिए । २०७९ को निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका सिंहले यस क्षेत्रमा बलियो व्यक्तिगत प्रभाव र मताधार कायम रहेको दाबी गर्दै आएका छन् ।
स्थानीय तहमा थापा र सिंह दुवैको प्रभाव रहेकाले सर्लाही४ को चुनावलाई निकै रोचक र चासोका साथ हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत सन्देश दिनेछ ।
सर्लाही ४ मा यसअघि २०७९ मा पनि गगन जान चाहेका थिए । तर त्यसबेला उनी अन्तिम समयमै काठमाडौंमा अडिए । २०७९ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट सिंह निर्वाचित भएका थिए । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार १ हजार ७६५ मतान्तरले पराजित भए । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याए ।
यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो ।




