हरिवन, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका आधारमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशका १३४ स्थानीय तहलाई पछि पार्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
नेपाल सरकारको कृषि तथा वन मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले वन विकास, कृषिवन प्रवर्द्धन, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हरिवन नगरपालिकालाई प्रशंसापत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो।
मंगलबार बाराको सिमरास्थित होटल सिमरा इनमा आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँललाई पुरस्कार राशिको चेक तथा प्रशंसापत्र हस्तान्तरण गरिएको हरिवन नगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख सुवास कुशवाहाले जानकारी दिए।
रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। प्रशंसापत्रमा हरिवन नगरपालिकाले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षण, निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण, गाउँ–टोलमा वृक्षारोपण तालिम, विद्यालयमा इको क्लब सञ्चालन तथा बोटबिरुवा वितरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै उपप्रमुख हरिमाया घलानले ‘समृद्धिका लागि वन परियोजना’ ले स्थानीय तहमा वृक्षारोपणप्रति जनचेतना वृद्धि गर्न, खाली तथा बाँझो जमिनको सदुपयोग गर्न, जनप्रतिनिधिहरूलाई वन तथा वातावरणसम्बन्धी नीति, नियम र कानुनबारे जानकारी गराउन तथा नदी उकास क्षेत्र र सडक किनारमा वृक्षारोपण विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षहरूमा पनि परियोजना सञ्चालनलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
वार्षिक मूल्याङ्कनमा पर्साको जगरनाथपुर गाउँपालिका प्रथम, सिराहाको नवराजपुर नगरपालिका तेस्रो तथा पटेर्वा सुगौली गाउँपालिका चौथो स्थानमा परेका छन्।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापा, गणेश कार्की, महेश ढुंगाना, वन विज्ञ पशुपतिनाथ कोइराला, मधेश प्रदेश वन निर्देशक जगरनाथ प्रसाद जयसवाल, डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झा, वन अधिकृत वर्षा लामा, योजना अधिकृत लालबाबु यादव, अनुगमन तथा मूल्याङ्कन विज्ञ सन्तोष दुबे लगायत वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

उल्लेखनीय कुरा के छ भने हरिवन नगरपालिकाले गत वर्ष पनि मधेश प्रदेशमा दोस्रो स्थान हासिल गरेको थियो। लगातार दोस्रो वर्ष उत्कृष्ट कार्यसम्पादन गर्दै प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा आफ्नो पहिचान स्थापित गर्न नगरपालिका सफल भएको छ।




