कुरा सात वर्ष पहिलाको हो । म बिएसि नर्सिङ पढ्दै थिए । त्यही पढाई अन्तर्गत मैले अरुको कक्षामा गई कुनै शिर्षकमा पढाउनु पर्ने हुन्थ्यो । मैले त्यो दिन आफ्नो स्तनको जाँच आफै कसरी गर्ने भन्ने सम्वन्धमा कक्षामा पढाएर होस्टल फर्किए होस्टल फर्केपछि मेरो मनमा एउटा कुरा आयो । मैले अरुलाई त आफ्नो स्तनको जाँच कसरी गर्ने भन्ने सम्बन्धमा सिकाएकी छु तर म आफै कहिले गरेकी छैन । आज म पनि गर्छु भनि नुहाउदा आफ्नो स्तन जाँच गरे र दाहिने स्तनमा एउटा सानो मकैको दाना जत्रो गिर्खा भेटे म झस्यांग भए । ओहो यो के होला ? के यो क्यान्सर त होइन ? म आफ्नो शंका मेटाउन डाइगोनोसिस् सेन्टर पुगे । त्यहाँ मेरो स्तनको भिडियो एक्सरे र एफएनएसी (सुईले गिर्खामा गोपेर केही तन्तुहरु निकालेर गरिने क्यान्सरको जाँच) गरियो । नतिजामा क्यान्सर होइन भन्ने थाहा भयो र केही हर्मोनल औषधि लिएर होस्टल फर्के ।
परीक्षा नजिकिदै गरेको हुँदा आफ्नो पढाईमा व्यस्त भए । तर वेला वेलामा आफ्नो स्तनको आफै जाँच गरिरहे । त्यो सानो गिर्खा त्यही थियो । दुख्दैन थियो र बढेको पनि थिएन । जाँच दिएर म नेपाल फर्के नदुखेको भएर खासै चासो भएन । तर मेरो मनमा अझै संका थियो । त्यो मेटाउन फेरी म बेंगलोरको रिर्पोटका साथ भरतपुरस्थित क्यान्सर अस्पताल पुगे त्यहाँ फेरी मेरो एफएनएसी जाँच दोहोर्याईयो र रिपोर्ट राम्रो आयो अर्थात् क्यान्सर छैन । फेरी १ महिनाको हर्मोनको औषधि लिएर फर्के सवै औषधि खाई सक्दा पनि मेरो त्यो गिर्खा जस्ताको त्यस्तै थियो । म अझै सन्तुष्ट थिईन । त्यो गिर्खा किन छ । म यस लाई झिकेर फाल्छु भनि डाक्टरलाई अनुरोध गरे । शल्यक्रियाद्धारा गिर्खा निकालेर क्यान्सरको जाँच गर्न पठाइयो पन्ध्र दिन पछि रिपोर्ट आयो । शरीरको अन्य भागमा समेत सर्न सक्ने खालको क्यान्सर । म झसंग भए । छाँगाबाट खसे सरह भए । त्यस्तो बेलामा आफुलाई थाहा भएको ज्ञान सबै हराउदो रहेछ । मनमा धेरै शंका उपशंका आउँन थाल्यो । यति दुःख गरी पढेर आए । अब जिन्दगीमा केही गर्छु भनि आटेकी थिए । सबै एकै झट्कामा सकिने त होईन । यो स्थितिबाट बाहिर आउन मलाई ३/४ दिन लाग्यो । मलाई आई परेको चुनौती स्वीकार गरिसकेकी थिए । क्यान्सर ल ठिक छ । आईज तलाई म जसरी पनि हराई छाड्छु । यति सजिलै कहाँ हार मान्छु र ?
त्यसपछि मेरो उपचारको शिलसिला सूरु भयो । हो यो शिलशिलानै थियो । किन कि यो उपचार अझै जारी छ । म अझै पनि हार्मोनल थेरापीमा छु । र औषधि सेवन गर्दै छु । यसले अझै पनि मेरो रोगसँग लड्ने शक्ति घटाएको छ जस्ले गर्दा मलाई कोरोनाले पनि झण्डै मारेन । कोभिडसँग लड्दा मलाई असाध्दै गाह्रो भयो । शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म पुगेको थियो । तर परिवारमा अरुलाई पनि कोरोना भएकाले अस्पताल भर्ना भने भईन । आज म कोरोनालाई पनि जितेर सामान्य अरु सरह काँधमा काध मिलाएर हिडिरहेकी छु ।
उपचारको क्रममा मेरो पुरै स्तन शल्यक्रिया गरी निकालियो र जाँच गर्न पठाईयो । त्यो वेला मलाई आफ्नो स्तन भन्दा जिन्दगीको मोह थियो । अहिले वाँच्न मात्र पाए अरु कुरात हँदै रहन्छ । त्यसपछि जाँच्न पठाएको स्तनबाट क्यान्सर अरु लिम्भ नोडहरुमा पनि फैलिएको हुदा उपचारका सवै विधिहरु अपनाउनु पर्ने भयो । जसमा किमो थेरापी, रेडिएसन थेरापी र हर्मोन थेरापी पर्दछन । शल्यक्रियाको एक महिनापछि मेरो किमो शूरु भयो । यो औषधिले हाम्रो शरीरमा उत्पादन भएका क्यान्सरका कोषहरुलाई वढन दिदैन र त्यही मार्छ । तर यसले हाम्रो शरिरमा बनिरहेको अरु कोषहरुलाई पनि वढ्न दिदैन जसको कारण हाम्रो शरीरको सबै रौंहरु झर्छन् । नङ पनि कालो हुँदै जान्छन् । २१/२१ दिनमा लगाउनु पर्ने यो औषधिले धेरै साईड ईफेक्ड गर्छ । जसमा मुखको छाला जाने खान मन नलाग्ने वाक वाक लाग्ने । वान्ता हुने । एकदम कमजोर वनाउने । यो वेला मेरो आफ्नो घर परिवारबाट असाध्यै मद्दत मिल्यो । उहाँको माया र स्याहारले गर्दा मेरो किमि थेरापिको राम्रोसंग पुरा भयो । अनि रेडियसन र त्यसपछि हार्मोन थेरापी । यो थेरापी गराउदै गर्दा शारिरिक पिडा त छदै थियो । तर सबै भन्दा ठुलो लडाई थियो । परिवार र आफन्तजनहरुबाट व्यक्त भावनाको सामना गर्दै थिए । एक तर्फ म आफ्नो परिवारलाई म सन्चो हुन्छु । हजुरहरु नआत्तिनुहोस् भन्थे भने अरु आफन्तहरु जस्ले भेट्न आँउदा नकरात्मक कुरा गर्दथे । मैले चिनेको एउटा छिमेकीलाई क्यान्सरभई दुई महिनामानै मरीन ।यस्ता कुरा सुन्दा विरामिको मनोबल घट्छ । म पनि खिन्न हुन्थे । तर डर अनुहारमा नल्याई म त सन्चो हुन्छु भन्थे ।
यो रोग डरलाग्दो त छ तर आत्मवल वलियो वनाई यसलाई जित्न सकिने रहेछ । तर अरु रोग जस्तो सजिलो भने छैन । यसको उपचार गरिनु नै पर्छ तर सबै भन्दा ठूलो कुरा हो परिवारको साथ, माया र स्याहार । मेरो यो लडाई जुन अझै चल्दै छ । यसमा मेरो परिवारका सम्पूर्ण सदस्यहरुले साथ दिनु भयो विशेषत मेरो श्रीमान र मेरी सासु आमा उहाँहरुको साथले नै म आज म छु ।
त्यही उपचारको क्रममा झरेका मेरो कपाल उपचारपछि पलायो । तर अब मैले मेरो लुक्स् नै बदल्ने निधो गरे र बढेको कपाललाई छोटो गरी काटि रहन्छु । आज यसले मलाई नयाँ पहिचाहन दिएको छ । आत्मविश्वासका साथ जिन्दगीको भोगाईलाई अरु समक्ष प्रस्तुत गर्दै समाज परिवर्तन तर्फ लम्की रहेकी छु ।




