विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपका कारण विश्वले मानवीय एवम् आर्थिक क्षति व्यहोर्नु परेको छ । कोभिड-१९ महामारीबाट विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ । कोभिड-१९ महामारीका कारण विश्वभरको अर्थतन्त्रमा असर परेको छ। नेपालको अर्थतन्त्र पनि यतिखेर उस्तै असर भोग्दैछ। विश्व बजारमा परेको असरका कारण रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा आउन सक्ने गिरावटले अझ हाम्रो देशको अर्थतन्त्रलाई थप जोखिममा पार्ने सम्भावना छ।
नेपाल सरकारले गरेको लकडाउन र त्यसपछि स्थानीय निकायहरुले गरेको निषेधाज्ञाको जोडघटाउबारे वहस भइरहेका छन् र आगामी दिनमा पनि हुनेछन् । अर्थतन्त्रभन्दा मानव जीवन पहिलो हो भन्ने मानवीय भावनाको आधारमा सुरुमा नेपाल सरकारले देशव्यापी बन्दाबन्दी गरेको हो । तर लामो समयसम्म अर्थतन्त्र बन्दाबन्दीको अवस्थामा रहँदा हुने आर्थिक असर एउटा व्यक्ति, परिवार, समाज, देश हुँदै अन्तराष्ट्रिय स्तरसम्म परेको छ । लामो समयको बन्दाबन्दीको कारण नेपालमा लाखौँ मानिसहरुले रोजगार गुमाएका छन् । केही सञ्चालनमा आएका व्यवसायहरुले सामान्य नाफा पनि आर्जन गर्न सकेका छैनन् । विश्वव्यापी रुपमा आर्थिक वृद्धिको सूचक घट्दै गइरहेको छ । मानिसहरुका आर्थिक गतिविधि चलायमान नहुँदा समग्र क्षेत्रको आम्दानीको स्तर पनि घटेर गएको छ । नेपालमा पनि शिक्षा, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यवसायीहरुले एक रुपयाँ पनि आम्दानी गर्न सकेका छैनन् ।
नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत विदेशमा काम गर्ने नेपाली श्रमिकबाट प्राप्त हुने रेमिट्यान्स र विदेशबाट आउने पर्यटकले गर्ने खर्च हुन् । नेपालीहरुको रोजगारको प्रमुख गन्तव्य मुलुकहरुमा कोरोना महामारीबाट प्रभावित छन् । रेमिट्यान्टस प्रवाह केही घटेको स्थिति छ । विदेशमा लाखौँको सङ्ख्यामा नेपालीहरुले रोजगारी गुमाएका छन् । उनीहरु कहिलेसम्म स्वदेश फर्कन सक्छन् टुङ्गो छैन । स्वदेशमा नै रोजगारी गुमाउनेको संख्या पनि धेरै छ । त्यस्तो अवस्थामा विदेशबाट फर्केर आउनेलाई व्यवस्थापन गर्ने ठूलो चुनौती छ । कोरोना महामारी पूर्णरुपमा अन्त्य नभई उनीहरु पुनः विदेशिक रोजगारीका लागि जाने अवस्था पनि छैन । कोरोनाले थलिएका गन्तव्य देशहरुले पनि स्वदेशी नागरिकलाई महत्व दिने हुँदा विदेशी कामदारले तत्कालै काम प्राप्त गर्न सक्ने सम्भावना पनि छैन ।
नेपाली अर्थतन्त्रको पुनरुथान सुरु हुन नेपाली जनतामा विश्वमा सफल भएको कोरोनाको भ्याक्सिन प्रयोगमा आउनु पर्छ या त कोरोनाको संक्रमण घटेर शुन्यको नजिक आउनु पर्दछ जुन कुरा तत्कालै सम्भव देखिदैन ।




