गैंडाकोट । शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न नयाँ प्रविधि प्रयोगहरू हुँदै आएका छन् । यी मध्ये प्रोजेक्ट मार्फत गर्ने अध्ययन अध्यापनलाई प्रभावकारी मानिन्छ । सोही माध्यमबाट अध्यापन गराउनको लागि र पाठ्यक्रममा अन्तरराष्ट्रिय आयाम जोड्नको लागि ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तरराष्ट्रिय स्कूल अवार्ड कार्यक्रम प्रभावकारी देखिएको छ । यसको एउटा उदाहरण हामीले स्मल हार्ट एकेडेमीका कक्षा २ मा अध्ययन गर्ने विद्यार्थीहरूमा देख्न सक्छौं । सामाजिक विषयको आफू, आफ्नो परिवार र छरछिमेक, गणित विषयको समय, मुद्रा र नापतौल तथा अंग्रेजी विषयको Talking about the days of the week लाइ प्रोजेक्ट मार्फत अध्ययन गर्दा निकै सजिलो भएको विद्यार्थीहरूले बताए ।
विभिन्न देशको क्यालेन्डर जम्मा गरेर विद्यार्थीहरूले आफै क्यालेन्डर बनाउन सिके भने कक्षा भरीका विद्यार्थीहरूले आ-आफ्नो जन्मदिन राखेर जन्मदिन संग्रहको पोस्टर बनाए । समान जन्मदिनको आधारमा विद्यार्थीहरूको जोडी बनाएर खेल समेत खेल्न सिके । वंलादेशमा रहेको सिरामिसी प्राथमिक विद्यालयसँग सामूहिक कृयाकलापमा संलग्न रहे । विशेष गरी वंलादेशमा जन्मदिन मनाउने तरिका र नेपालमा परम्परागत रूपमा जन्मदिन मनाउने तरिकाको तुलनात्मक अध्ययन गरे र आफ्नो प्रतिक्रिया लेख्न सिके । यसरी अध्ययन गर्दा कक्षामा पढेको जस्तो अनुभव नभइ खेलेको जस्तो अनुभव हुने कक्षा २ की छात्रा एविस्टिन गुरूङ्गले बताइन । त्यसैगरी अध्यापन सजिलो र प्रभावकारी भएको तथा यस्तो शिक्षण शैली अपनाउँदा विद्यार्थीहरूमा उत्साह बढेको उक्त परियोजनाको परियोजना प्रमुख शिक्षिका सुसेन क्षेत्रीले बताउनुभयो ।




