चितवन । पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा धानको घाँटी मरुवा र पात डडुवा रोग देखिएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार खैरहनी र रत्ननगर नगरपालिकामा लगाइएको चैतेधानमा यस्तो समस्या देखिएको हो । कार्यालयका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार सो क्षेत्रमा लगाइएको हर्दिनाथ–१ र पिआर धानमा समस्या देखिएको हो । यस धानमा गत वर्ष पनि यो समस्या देखिएको थियो । बातावरणअनुकूल हुन नसक्दा र रोग सहन सक्ने क्षमता कम भएको धानमा यो समस्या देखिने गरेको हो ।
अहिले खैरहनी नगरपालिकामा लगाइएको ५०० हेक्टर क्षेत्रफल र रत्ननगरमा फाट्टफुट्टरूपमा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । ढुसीका कारण धानमा यो समस्या आउने उहाँले बताउनुभयो । अहिले लगाइएको धानमा रोग सहन सक्ने क्षमता कम हुने हुँदा रोगले सहजै आक्रमण गरेको उहाँको भनाइ छ । बाला निस्कनुअघि ढुसीनाषक विषादी छर्नुपर्ने हुन्छ । किसानमा ज्ञानको कमीका कारण विषादी नराख्दा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
धानमा देखिएको समस्या समाधानका लागि कार्यालयले आकस्मिक बाली संरक्षण सेवाबाट काम गरिरहेको छ । कार्यालयका प्रमुख राजन ढकालले स्थानीय तहहरूसँग सहकार्य गरी रोग नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । स्थानीय तहमा रहेका कृषि शाखालाई यस विषयमा पूर्वजानकारी गराइएको भए पनि रोग लागेपछि नियन्त्रणका लागि प्रयोग गर्ने विषादी, मात्रा र विधिका बारेका किसानलाई जनाकारी गराउँदै आएको उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा छ हजार हेक्टरभन्दा बढीमा चैते धान लगाइएको छ । रासस




