चितवन । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जय सिंह केसीले चितवन शाखालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका छन ।
शनिबार एक कार्यक्रमकाबीच भरतपुरको युनियनको कार्यालयमा शाखा अध्यक्ष अनिल ढकाललाई सामाग्री हस्तान्तरण गरेका हुन । केसीले सेनिटाइजर, एन ९५ मास्क ७० थान र १५ थान प्रेस ज्याकेट सहयोग गरेका थिए । केसीले चैत १४ गतेदेखि २५ जिल्लाका पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री तथा क्वारेन्टिनमा बसेकालाई खाना, खाजा सहयोग गरिसकेको बताएका छन ।
केसी कोहलपुर–८ बाट प्रकाशन हुने मार्ग रेखा दैनिकका प्रकाशक समेत हुन् । हस्तान्तरण पछि बोल्दै केसीले भने,‘फ्रन्टलाइनमा बसेर पत्रकारिता गर्नेलाई सकेको सहयोग अभियान चलाएको छु । ७७ जिल्लामै सहयोग पु¥याउने लक्ष्य छ ।” उनले बर्दिया , धनगढी, दाङ, डडेल्धुरा, परासी, कपिलवस्तु लगायतका जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरिसकेको बताए । “रिपोर्टिङमा खटिने पत्रकार कोरोना संक्रमणको जोखिममा छन्, यो बेला सावधानी अपनाउन जरुरी छ”, उनले भने, “साथै पत्रकारको आत्मबल बढाउन जरुरी पनि छ ।” सबै पत्रकारको विमा, समयमै पारीश्रमिक पाउने वातावरण सुजना गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले शनिबारनै भरतपुर ८, १८ र १९ का क्वारेन्टाइनमा बसेकालाई खाना सहयोग समेत गरे ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पत्रकारलाई प्रोत्साहन गर्दै सुरक्षित तवरले पत्रकारिता गर्न प्रेरित गर्न आवश्यक रहेको बताए । महामारीको बेला पत्रकारको भूमिका र दायित्व उत्तिकै बढ्ने हुंँदा पत्रकारले सरकारले गरेको कामको सुक्ष्म निगरानी गर्नुपर्ने बताए । शाखा अध्यक्ष ढकालले केसीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री क्रियाशिल पत्रकारलाई वितरण गरिने बताए । नेपाल पत्रकार महासंघ तथा प्रेस युनियनकी केन्द्रीय सदस्य सृजना अर्यालले कोरोना संक्रमण फैलिन नदिन पत्रकारले समाजलाई सतर्क बनाउनुपर्नेमा जोड दिए ।




