गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को सातौँ राष्ट्रिय महाधिवेशनको पोखरामा उद्घाटन गर्दै उहाँले सङ्घीयतासँगै चलचित्र क्षेत्रको वृद्धि विकासका लागि प्रादेशिक बोर्ड गठन गर्न आवश्यक रहेको बताउनुभयो ।
आदिवासी जनजातिको कला, संस्कृति संरक्षणसहित चलचित्रको मर्म र भावनाअनुसार अघि बढाउनको लागि प्रदेशस्तरमै बोर्ड हुनु आवश्यक रहेको मन्त्री बरालको भनाइ छ । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको कला, संस्कृति नेपाली पहिचान हुन् । यिनको संरक्षणको लागि निर्माण हुने फिल्म क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”
तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले राज्यबाट अझै चलचित्र क्षेत्रलाई विभेद गरिएको बताउनुभयो । महाधिवशेनका अवसरमा गुरुङ चलचित्र क्षेत्रमा उल्लेखनिय योगदान गरेकामा पाँच जना चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नायिका कल्पना गुरुङ, सङ्गितकर्मी दुर्गाबहादुर गुरुङ, गणेश गुरुङ, नायिका ज्योति गुरुङ र सङ्गितकर्मी कृष्णकुमार गुरुङ रहेका रहनुभएको छ । उहाँहरूलाई मन्त्री बराल, चलचित्रकर्मी माओत्से गुरुङ, सङ्घका अध्यक्ष एशोसिएशनका अध्यक्ष भोजबहादुर गुरुङले सम्मानपत्रको साथमा खादा माला र दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।




