परासी । अभिनेता प्रमोद अग्रहरिले कलाकारितासँगै बिजनेस पनि सुरु गरेका छन् । उनले स्विट्सको बिजनेस सुरु गरेका हुन् । परासीमा अम्रितम स्विट्स खोलेर बिजनेसमा हात हालेका हुन् ।

“धनतेरको दिन परासीमा रहेको आफ्नै घरमा मैले स्विट्सको बिजनेस सुरु गरेको हुँ,” प्रमोद भन्छन्, “कलाकारितासँगै बिजनेस पनि सुरु गरौं भनेर यसमा लगानी गरेको हुँ ।” लगानी आफ्नो रहे पनि बिजनेस भने दाइले सम्हाल्ने उनले जानकारी दिए । “परासीबाट सुरु गरेको बिजनेस सकेसम्म चाँडै यसको शाखा काठमाडौंमा पनि सुरु गर्ने योजना छ,” उनले भने, “पछिल्लो समय उच्च मूल्यसँगै गुणस्तरमा धेरै शंका छ । हामी सुपथ मूल्यमा सफा र गुणस्तरमा सम्झौता गर्ने छैनौं ।”

स्विट्समा गुणस्तर र सफा हुँदैन भन्ने बजारमा रहेको गुनासो उपभोक्तालाई गर्ने वातावरण नबनाउने आफ्नो मुख्य उद्धेश्य रहेको उनको भनाइ छ । “गुणस्तर नभएको, सफा नभएको तथा मिसावट भएका कारण सरकारले छापा मारिरहेको भन्ने खबरहरु धेरै आइरहेका हुन्छन्,” उनी भन्छन्, “यो अवस्थाबाट टाढा रहँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने हाम्रो उद्धेश्य रहेको छ ।”




