पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्माता तथा निर्देशक देउकृष्ण देवानको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको ‘डाँडा बजार’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री तथा मोडल रेखा फागो लिम्बू र देवेन्द्र लिम्बूका अलावा युमन लिम्बू र सुनिता संयक लिम्बू फिचरिङ छन् ।
निर्देशक देवनले भिडियोमा पूर्वेली मौलिकतालाई पस्कने प्रयास गरेका छन् । यस गीतमा गायक देवेन्द्र लिम्बू, डीबी लिम्बू, सुनिता संयक लिम्बू र हिमाली फेवादिन लिम्बूको स्वर रहेको छ । सुनिता संयक पछिल्लो समय गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नेक्रममा छिन् । विशेषगरी सुनिता लिम्बू भाषा र पुर्वेली गीतका लागि चर्चित छिन् ।
चित्र याख्खाको संगीत रहेको यस गीतलाई चारखोला शिशिरले रचेका हुन् । गीतकारले गाउँघरकै रहन सहनलाई गीतको शब्दमा उनेका छन् । धनकुटाको डाँडा बजार र तमोर नदी आसपासमा छायाँकन गरिएको यस भिडियोमा कोरियोग्राफी पनि निर्देशक देउकृष्ण देवान कै रहेको छ । सुमन तामाङको छायाँकन रहेको भिडियोमा आधुनिक देवन र पद्मा माया (सीता राई) को पनि अभिनय रहेको छ ।




