सर्लाही । शुक्रबार रातीदेखि परेको वेमौसमी अविरल वर्षाका कारण कबिलासी नगरपालिका–२ पिपरियामा एक बालिका घाइते भएकी छिन् ।
घरको पर्खाल लडेर स्थानीय सुधिर सिंह दनुवारको छोरी ९ वर्षीया शिवानी सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । शरिरका विभिन्न ठाउँमा चोट लागेकी शिवानीलाई उपचारका लागि जनकपुर लगिएको छ ।

त्यस्तै सर्लाहीमा १ हजार ६१९ घरधुरी बिस्थापित भएका छन् । विस्थापित परिवारहरु सुरक्षित स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । विस्थापित परिवारमध्ये चक्रघट्टा गाउँपालिका-१ पडरियास्थित २० वटा कच्चीघर पुर्ण रुपमा क्षेती भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राइले जानकारी दिए । कौडेना गाउँपालिका-७ शिवनगर गाउँका झण्डै ४०० घरधुरी लखन्देहीको बाढी पसेका कारण चारैतिरबाट सम्पर्क विच्छेद भएका छन् ।
त्यस्तै बाढीको डुबानमा फसेका १२ जना पुरुष र ७ जना महिलालाई उद्धार गरिएको छ । कौडेना गाउँपालिका-३ पर्सा टोलादेखि पश्चिम १५० मिटर हुलाकी राजमार्ग लखन्देही खोलाको बाढीले कटान गरेको छ ।
त्यसैगरी ब्रम्हपुरी गाउँपालिका-७ स्थित ब्रम्हपुरीबाट भक्तिपुर चौलिखा जाने कलभर्ट अदवारा खोलाले बगाएको छ । ब्रम्हपुरी गापा-४ स्थित झिम खोलाले बाँध कटान गरेको छ । धनकौलको महिनाथपुरबाट रौतहटको धरमपुर जोड्ने २ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।
बलरा नगरपालिका-१, ३, ४ र ५ स्थित विभिन्न टोलाका ११ सय घरमा पानी पसेको छ भने मलंगवा नगरपालिका-५ भाँडसरका २०० घरमा पानी पसेको छ । बरहथवा नगरपालिका-७ डोमटोलका एक दर्जन घरमा पानी पसेको छ । मलंगवा नगरपालिका-८ स्थित प्रहरी चौकी गोरखकाली, भन्सार कार्यालय लगायत डुबानमा परेका छन् । चक्रघट्टा गापा-५ मा पनि एकदर्जन घरमा लखन्देहीको बाढीका कारण पानी पसेको छ ।
कबिलासी नगरपालिका-८ अगर्वाका १४ वटा घरमा पानी पसेको छ । त्यस्तै लालबन्दी-१७ रानिगंज, हरिवन-११ स्थित निकास नहुँदा वर्षाको पानि जमेर १०० वटाभन्दा बढी घरहरु डुबानमा परेका थिए । हरिवनमा नेपाली सेना लगायत सुरक्षानिकायको पहलमा राती नै पानी निकास गरिएको थियो ।

त्यस्तै प्रहरी चौकी गोडैता कार्यालय भवनको दक्षिणतर्फको कम्पाउण्ड वाल लडेको छ भने प्रहरी चौकी मोहनपुर कार्यालय भवनको पुर्व तर्फको कम्पाउण्ड वाल लडेको छ ।




