प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको लालबन्दी–१, नवलपुरमा रहेको नेत्रगञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी चार वर्षका लागि कार्यसमिति र लेखा सुपरिवेक्षण समिति गठन गरेको छ।
संस्थाकी अध्यक्ष मन्दिरा चालिसेको अध्यक्षता तथा जेष्ठ सदस्य मनकुमारी चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले भबिता ढकालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति र गंगा केसी संयोजक रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मतरूपमा चयन गरेको हो।
यसअघि गठन गरिएको निर्वाचन समितिले शेयर सदस्यहरूबाट उम्मेदवारी आह्वान गरेपछि सबै पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक समिर सुवेदीले जानकारी दिए। समितिमा केशव ढकाल र नारायण लामिछाने सदस्य रहेका थिए।
सर्वसम्मत चयन भएका पदाधिकारीहरूमा उपाध्यक्ष ममता क्षेत्री, सचिव मञ्जुला कुमारी पासवान, कोषाध्यक्ष सम्झना मैनाली रहेका छन्। सदस्यहरूमा अप्सरा उप्रेती, मनमाया लायो मगर, सम्झना खत्री, रिता कुमारी र अनुराधा कुमारी रहेका छन्। त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा संयोजक गंगा केसी र सदस्यहरूमा रमा कुमारी खतिवडा तथा एक अन्य सदस्य रहेका छन्।
संस्थाकी कोषाध्यक्ष सम्झना मैनालीका अनुसार २०५८ सालमा ३६ जना शेयर सदस्य र ३ हजार ६ सय रुपैयाँ पूँजीसहित दर्ता भएको यस संस्थामा हाल १ हजार ३ सय ६५ जना शेयर सदस्य पुगेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले १० करोड ११ लाख १५ हजार ८ सय ३३ रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिइएको छ।
सभाको अवसरमा असल ऋणी, उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता तथा बढी खाता खोल्ने सदस्यहरूलाई प्रशंसापत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै, बाल बचतकर्तालाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा पूर्व सञ्चालक समिति सदस्यहरू तथा निर्वाचन समितिका पदाधिकारीहरूलाई मायाको चिनो र कलश प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा लालबन्दी नगरपालिका सहकारी प्रतिनिधि तथा निर्वाचन समिति संयोजक समिर सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव केशव ढकाल, राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रमुख नारायण लामिछाने, संस्थापक अध्यक्ष शान्ता अधिकारीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सभामा वक्ताहरूले सहकारीको स्थायित्व र दिगोपनका लागि शेयर सदस्यहरूले निरन्तर अनुगमन र सहकार्य गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायहरूले समय–समयमा नियमन तथा निरीक्षण गर्न आवश्यक रहेको सुझाव दिएका थिए।

कार्यक्रमको सञ्चालन नव–निर्वाचित अध्यक्ष भबिता ढकालले गरेकी थिइन् भने स्वागत अप्सरा उप्रेतीले गरेकी थिइन्।




