प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा अवस्थित बागमती सेवा समाजले हालै बाढी तथा डुवानबाट प्रभावित १२५ घरपरिवारलाई राहत वितरण गरेको छ। गत असोज १५ देखि १८ गतेसम्म परेको अविरल वर्षाका कारण हरिवन नगरपालिकाका विभिन्न वडाहरूमा बाढी र डुवानको ठूलो प्रभाव परेको थियो।
समाजका कार्यक्रम प्रमुख भरत कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का १५ घरपरिवार, वडा नं. ६ का चार्लिक, झल्ला र गुम्बाटोलका ६२ घरपरिवार तथा वडा नं. १० का ताइवान टोलका ४८ घरपरिवार गरी कुल १२५ घरपरिवारलाई राहत वितरण गरिएको समाजका कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले जानकारी दिनुभयो।
वितरण गरिएको राहत सामग्रीमा चामल २५ किलो, दाल ४ किलो, नुन २ किलो, तेल ३ लिटर, चिनी २ किलो र सोयाबिन आधा किलोका दरले उपलब्ध गराइएको समाजकी सामुदायिक परिवर्तन सहजकर्ता विधा पौडेलले बताउनुभयो।
सन् १९९३ (वि.सं. २०५०) मा बागमती नदीले पुर्याएको क्षतिपछि बाढीपीडितहरूको उद्धारका उद्देश्यले गठन गरिएको बागमती सेवा समाज २०५२ सालमा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भई औपचारिक रूपमा क्रियाशील बनेको हो।
समाजले विगत तीन दशकदेखि सर्लाहीसहित मधेश, कोशी र बागमती प्रदेशका ११ जिल्लामा शिक्षा, स्वास्थ्य, सरसफाइ, सीप विकास, भौतिक पूर्वाधार, सुशासन र विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ।
राहत वितरण कार्यक्रममा वडा जनप्रतिनिधि सन्तलाल स्याङ्तान, अजय महतो, मिरा मिक्चन, रामाधिन महतो, नेपाल प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। राहत सामाग्री पाएपछि चाडपर्वको बेला परिवार धान्ने चिन्तामा रहेका बाढीपीडितका मुहारमा खुशी छाएको थियो।

“हामीजस्ता दुखी, गरिब र पीडामा परेकाहरूका लागि समाज भगवानझैं बनेर आएको छ,” हरिवन नगरपालिका–४, गैरिटोलका बाढीपीडित बिर्बहादुर दोङले भावुक हुँदै समाजप्रति आभार प्रकट गर्नुभयो।

यसपटकको राहत सहयोग ‘हाम्रो शहर परियोजना’ अन्तर्गत काठमाण्डौं विश्वविद्यालयको प्राविधिक सहयोग र हेल्भेटास नेपालको आर्थिक सहयोगमा वितरण गरिएको हो।

हरिवनमा करिब दश महिनादेखि सञ्चालनमा रहेको सो परियोजनाले स्थानीय टोल विकास संस्थामार्फत सुशासन, भौतिक पूर्वाधार विकास, सीप तथा नेतृत्व सुदृढीकरण, क्षमता अभिवृद्धि र सूचना अधिकार सम्बन्धी सशक्तीकरणका कार्यहरू गर्दै आएको छ।




