सर्लाही
मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।
नेपाल र भारतका हिन्दु धर्मावलम्बीले मनाउने छठ एक महत्वपूर्ण पर्व समेत हो । नेपालमा विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको यो पर्व केहि बर्ष देखी पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ ।
सर्लाहीको ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ । आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि सर्लाहीका पोखरीहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरी नभएको ठाउँमा नदी, कुवा लगायतको पानीको स्रोत भएको स्थानलाई सफा गरी सजाइरहेका स्थानिय सन्तोश यादबले बताए ।
अन्न कुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी सुरु हुन्छ । छठ पर्वको लागि अहिले सर्लाहीका पोखरीहरूलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो । आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिँदै छ ।
सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि छठ पर्वको अन्त्य सम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाइन्छ । कात्तिक महिनाको चौथीदेखि बर्तालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
सर्लाहीमा छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । सर्लाही जिल्ला भरि ४७३ पोखरी, खोलानाला र अन्य जलाशय किनारमा छठ घाट निर्माण भइरहेको सर्लाही प्रहरीले जनायको छ । स्थानीय बासिन्दाहरूका अनुसार सर्लाही जिल्लाका २० वटै पालिकामा जलाशयका किनार सफाइ गरी बाँसका खट गाडी बत्ती जडानका साथ छठ घाट बनाउने काम भइरहेको स्थानिय कमल महतो बताउछन ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई–मधेसवासीको महत्वपूर्ण पर्व छठको रौनकता छाएको छ । तराई–मधेसका मुख्य पर्वहरूमध्ये मिथिला थारू तथा भोजपुरी महिलाहरूको विशेष कठोरताको पर्वका रूपमा रहेको छ । यो पर्वलाई यहाँ सबैभन्दा ठूलो एवं प्रकृति र संस्कृतिसँग जोडेर हेर्ने गरेको बबंरगज स्थानिय शिबनन्दन राउतले बताए ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ । रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफुल र मिठाई जस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन्े परम्परा छ ।




