प्रेमनाथ पौडेल, सर्लाही । हरिवन नगरपालिकामा दुईदिने नगर स्तरिय रणनीति तथा दुरदृष्ट्री निर्माण कार्यशाला सम्पन्न भएको छ।
हाम्रो शहर परियोजना’ अन्तर्गत आयोजित उक्त कार्यशालाको अध्यक्षता नगर उप–प्रमुख हरिमाया घलानले गर्नुभएको थियो भने प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकी (कमल) रहनुभएको थियो।
कार्यक्रममा सहजकर्ता बिज्ञ कुमार धमलाले शहरी विकाससँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गर्नुभएको थियो। उहाँले विशेषगरी जलबायु उत्थानशील र समावेशी शहरी योजना, शहरी विकास योजना, नगर विकास योजना, एकीकृत शहरी विकास, बाटो विकास योजना, दिगो शहरी तथा नगर यातायात योजना आदि विषयमा ‘किन’, ‘कसरी’ र ‘कति महत्वपूर्ण’ भन्ने पक्षहरू स्पष्ट पार्नुभएको थियो।
कार्यक्रमको उद्देश्यबारे हाम्रो शहर परियोजनाका कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले जानकारी गराउँदै, उक्त कार्यशाला नगरको दीर्घकालीन योजनालाई प्रभावकारी बनाउने आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
गोष्ठीको अन्तिम चरणमा सहभागिलाई समूहगत अभ्यासमार्फत नगरपालिकाका सबल–दुर्बल पक्ष पहिचान र रणनीतिक योजना निर्माण सम्बन्धी सीप प्रदान गरिएको समाज परिचालक बिधा पौडेलले बताउनुभयो।
कार्यक्रमका बीचमा हेल्भेटास नेपालकी कार्यक्रम संयोजक हिसिला मानन्धर तथा प्रशिक्षक प्रोफेसर धमलालाई ‘हाम्रो शहर’ लेखिएको माया चिनो प्रमुख अतिथि नगरप्रमुख कमल बुढाथोकीले प्रदान गर्नुभएको बागमती सेवा समाजका रजनिश सिंहले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले रणनीति निर्माण र दीर्घदृष्टि तय गर्नु सजिलो कार्य नभएको उल्लेख गर्दै, जनप्रतिनिधिहरूले आफूलाई ‘सबै जान्ने’ ठान्ने प्रवृत्ति नगर विकासका लागि चुनौती भएको बताउनुभयो। उहाँले योजनाहरू समयमै नबनाई मनोकामना अनुसार घोषणा गर्दै जाने चलनले नगरको प्रगति कमजोर हुने भन्दै, सबल–दुर्बल पक्षको पहिचान गरेर अघि बढ्दा मात्र रणनीति र दीर्घदृष्टि प्रभावकारी र दिगो बन्ने धारणा राख्नुभयो।
उहाँका अनुसार, “दूरदृष्टि भए मात्र आगामी दिनमा के गर्ने, के नगर्ने भनेर टुंगो लगाउन सजिलो हुन्छ,” भन्दै उक्त गोष्ठी अत्यन्तै उपयोगी भएको अनुभव व्यक्त गर्नुभयो।

दुईदिने गोष्ठीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, विभिन्न विषयगत शाखा प्रमुखहरू, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा वडा सचिवहरू सक्रियतापूर्वक सहभागी भएका थिए।

गोष्ठीको समापन अवसरमा स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरी, वडा नं. ११ की वडा सदस्य तारा विश्वकर्मा लगायतका सहभागीहरूले कार्यशाला अत्यन्तै प्रभावकारी र फलदायी रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।

कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग, काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग तथा बागमती सेवा समाज, हरिवनको आयोजनामा सम्पन्न गरिएको हो।




