प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा ३८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
हरिवन नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उप शाखाको आयोजनामा नगरपालिकाको प्राङ्गणमै आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा अन्तरक्रिया गरिँदै दिवस मनाइएको हो।

“अपाङ्गता मैत्री समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सुनिश्चितता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फरक क्षमताका १५ जना विद्यालयस्तरका छात्र–छात्रा तथा एक जना अपाङ्गता भएका शिक्षक सम्मान गरिएको हो ।

हरिवन ९बिष्णुपुर मा रहेको जनता प्राथमिक बिधालय मा अध्यनरत १५जना अपाङ्गता फरक क्षमता भएका लाई स्कुल ब्याग कापी कलम र शिक्षकलाई स्कुल पोषाक को कपडा डाईरी तथा पेन र सहभागी सबै अपाङ्गता भएका हरुलाई पय्ष्टिक च्यावन प्रास एक एक डब्बा प्रदान गरिएको महिला बालबालिका तथा समाजकल्याण उप शाखाकि निरीक्षक रुपा हुमागाईले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले गर्नुभयो भने प्रमुख आतिथ्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल रहनुभएको थियो।

सो अवसरमा शिक्षा शाखाका उपसचिव हरि प्रसाद दाहाल, शाखा अधिकृत रुपेश चौलागाई (स्टालिन), वडा नं. १ का वडा अध्यक्ष टमबहादुर घिसिङ, बागमती सेवा समाज–हाम्रो शहर परियोजनाका कार्यक्रम संयोजक धिरेन्द्र चौधरी, विधा पौडेल (अभियान नेपाल) लगायत सञ्चारकर्मी तथा विभिन्न वडाबाट आएका अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महिला तथा बालबालिका समाजकल्याण उपशाखा प्रमुख आशा क।खरेलले कार्यक्रमका उद्देश्य, आवश्यकता र अपाङ्गता भएका व्यक्तिहरूका हक–अधिकारबारे विस्तृत जानकारी गराउनुभयो।

अन्तरक्रिया सत्रमा सहभागी वक्ताहरूले अपाङ्गता भएकाहरूका लागि कागजी रूपमा सेवा–सुविधा व्यवस्था भए पनि व्यवहारिक रूपमा कार्यान्वयन कमजोर भएको प्रति चिन्ता व्यक्त गरे। स्थानीय तहदेखि नै समावेशी सहभागिता सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने सुझाव राखियो।

सहभागीहरूले रातो तथा निलो कार्ड भएका व्यक्तिहरूले केही सेवा पाउने गरेको तर पहेलो तथा सेतो कार्ड भएका व्यक्तिहरूले राज्यबाट कुनै सुविधा नपाएको गुनासो पनि व्यक्त गरे। हरिवन नगरपालिकामा चारै वर्गका झन्डै ७ सयको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरू रहेको नगरपालिका कार्यालयले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको हक–हित, पहुँच र सम्मानजनक जीवन सुनिश्चित गर्न स्थानीय सरकारका यस्ता कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।




